संसदको चुनावपछि मुलुक आर्थिक संवृद्धितर्फः अर्थमन्त्री

Advertisement

काठमाडौंः अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद र प्रदेशको निर्वाचनपछि मुलुक आर्थिक संवृद्धितर्फ अघि बढने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १८औं बार्षिक साधारणसभा उदघाटनका क्रममा उनले निर्वाचनको आर्थिक विकासको ढोका खोल्ने बताए ।

कार्कीले आर्थिक विकासलाई गाउँसम्म पुर्याउन र लगानी प्रवद्र्धन गर्न आर्थिक पत्रकारहरुले भूमिका खेल्नुपर्ने भन्दै नेपालको विकासका लागि ठूलो लगानीको अब जरुरी रहेको बताए । उनले विकासका मुद्दामा सेजनसँग सहकार्य गर्न र सेजनलाई सहयोग गर्न सरकार तयार रहेको बताए ।

नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाहरुसम्वन्धी ऐन (बाफिया) र नेपाल राष्ट्र बैंक ऐन संशोधनका क्रममा भएका चलखेल रोक्न आर्थिक पत्रकारहरुको ठूलो भूमिका रहेको बताए ।

उनले २३ बर्षपछि सात प्रतिशतको आर्थिक वृद्धि भएको, मुद्रास्र्फीति दर चार प्रतिशतमा सीमित रहेको भन्दै यसलाई निरन्तरता दिनु जरुरी रहेको बताए । नेपालको वित्तीय क्षेत्र धेरै सबल र सुदृढ भएको गर्भनर नेपालको भनाई छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले आफ्नै जीवनकालमा नेपाल संवृद्ध भएको हेर्न मन रहेको बताउँदै गरिव देशको कहिल्यै पनि सम्मान नहुने भएकाले पनि आर्थिक संवृद्धिका लागि ढिलो गर्न नहुने बताए ।

शर्माले विकासको लागि अभुतपूर्व अवसर आएको भन्दै यो अवसरलाई सदुपयोग गर्न सरकारलाई आग्रह पनि गरे । संविधान बनेकाले निजी क्षेत्रदेखि जनतासम्म उत्साह आएको बेला सरकार आर्थिक विकासका मुद्दामा गम्भीर हुनुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सेजनलाई थिंक ट्याक्कको रुपमा विकास गर्न सकिने बताए । उनले आर्थिक क्रान्तिका लागि आर्थिक पत्रकारहरुको भूमिका हुने भन्दै आफूहरुले विगतदेखि नै सेजनसँग सहकार्य गर्दै आएको बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले नेपालमा लगानीको बाताबरण बनेको बताउँदै श्रम, ऐन, सामाजिक सुरक्षा आउनु र बाँकी ऐनहरु पनि आउने क्रममा रहेकाले लगानीको बाताबरणका लागि यो महत्वपूर्ण रहेको बताइ । सेजनको यस बार्षिक साधारणसभाले नयाँ नेतृत्व पनि चयन गर्नेछ । सेजनमा करिव साढे दुईसय सदस्यहरु रहेका छन् ।

Advertisement

Advertisement

Advertisement