जग्गा खरिद प्रकरणमा गोपाल खड्का दोषी भेटिए मात्रै कारवाहीः मन्त्री मण्डल

Advertisement

काठमाडौंः आपुर्तिमन्त्री शिवकुमार मण्डलले कृत्रिम अभाव, कालोबजारी र खाद्यान्नमा मिसावट गर्ने उद्योगपति, व्यापारीलाई कडाभन्दा कडा कारवाही गर्ने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लबमा मन्त्री मण्डलले खाद्यान्नमा नाम चलेका ब्राण्डहरुले नै मिसावट गरेको भन्ने कुरा आफूहरुले थाहा पाएकोले त्यसको लागि ‘ल्याब टेष्ट’ गरेर प्रमाणित भए कारवाही गर्ने बताए ।

उनले भने, ‘जनताको जीवनसँग प्रत्यक्ष जोडिएका अत्यावश्यक वस्तुहरुमा मिसावट गर्नेलाई हामी कुनै पनि हालतमा उन्मुक्ति दिँदैनौं, ठुला उद्योगपतिहरु कालोबजारीया, कृत्रिम अभाव र खाद्यान्नमा मिसावट गरेको भन्ने कुरा थाहा पाएका छौं, अब उनीहरुको नाम हामी छिट्टै सार्वजनिक गर्छौं र कानुनी दायरामा ल्याएरै छाड्छौं ।’

मन्त्री मण्डलले अत्यावश्यक वस्तुहरुमा घातक कुराहरु मिसावट भएको पाइएकोले आफूहरुले अनुसन्धान र निगरानी बढाइरहेको जानकारी दिए । उनले थपे, ‘स्वस्थ रुपमा बाँच्न पाउने अधिकारमाथि खेलबाड भएको पाइए, जो कोहीलाई पनि कडा भन्दाकडा कारवाही गरेरै छाड्छौं ।’

मण्डलले अहिले खाद्यान्न आपुर्ति सहज भएको समेत जिकिर गरे । उनले थपे, ‘हामीले सुपथ मुल्यमा हिजोबाट पसलहरु पनि सञ्चालनमा ल्याएका छौं, दशैं, तिहार र छठ लगायतका चाडपर्वहरुलाई लक्षित गरेर यस्ता पसलहरु सञ्चालनमा ल्याएका हौं ।’

त्यस्तै उनले यो चाडपर्वसम्म कुनै पनि खाद्यान्नमा वा अतिआवश्यक वस्तुमा मुल्य नबढाउने समेत विश्वास दिलाए । मण्डलले डोल्पामा खाद्यान्न अभाव हुन नदिन आफूले निर्देशन दिइसकेको बताए । उनले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले अनियमितता गरेको भन्ने कुरा अहिलेसम्म अनुसन्धानकै विषय भएकोले प्रमाणित भए मात्रै कारवाही गर्ने बताए ।

उनले भने, ‘अनियमितता गरेको प्रमाणित भएमात्रै कारवाही हुन्छ, अहिले नै मैले केही भन्न मिल्दैन ।’ यद्यपी मण्डलले संसदको सार्वजनिक लेखा समितिमा उक्त विषयबारे केही कैफियत भएको ठहर गर्दै अख्तियारलाई पत्र पठाएको छ तर मन्त्रालयमा बोधार्थ भने आएको आफ्नो जानकारीमा नभएको स्पष्ट पारे ।

उनले आफूले कारवाही नै नगर्ने भनेर कहीँकतै नबोलेको समेत जिकिर गरे । मन्त्री मण्डलले थपे, ‘तथ्य र प्रमाणले दोषी ठहरिए कारवाही हुन्छ, दोषी ठहरिए कारवाही गर्ने कुरामा हामी कुनै हालतमा पनि ‘कम्प्रोमाईज’ गर्दैनौं ।’ उनले मन्त्रालयको तर्फबाट कानुनी कारवाही गर्ने कुरामा आफूले कुनै कसर बाँकी नराख्ने बताए ।

मण्डलले आयल निगमको जग्गा खरिदका विषयमा आफूलाई अहिलेसम्म कसैबाट पनि कुनै ‘प्रेसर’ नआएको उल्लेख गर्दै भने, ‘शिवकुमार मण्डल प्रेसरबाट डराउँदैन्, त्यस्तो प्रेसरले मलाई छुनेवाला छैन ।’

जग्गाखरिद प्रकरणको बारेमा समाचार लेखेकै भरमा एक दैनिक पत्रिकालाई ८० करोड क्षतिको माग दाबीसहित मुद्दा हालेको विषयमा तपाईको धारणा के हो भनि सोधिएको एक प्रश्नमा उनले थपे, ‘यो विषयमा मैले बोल्न मिल्दैन, तर मैले जहाँसम्म सुनेको छु एकले अर्कालाई अहिले आरोप लगाएका छन्, उनीहरुको कुरा नै अनुसन्धानको विषय बनेको छ, आयल निगमले आफूले भनेको जग्गा नकिनिदिएकोले समाचार लेखेको हो भनेर दाबी गरेको छ, यो उहाँहरुको बीचको कुरा हो ।’

Advertisement

Advertisement

Advertisement