धुर्मुस–सुन्तलीको अर्को घोषणाः बाढी पीडितहरुका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने

Advertisement

काठमाडौंः साउन अन्तिम साता अविरल बर्षाका कारण तराईका केही क्षेत्र डुवानमा परेसँगै स्थानीयको उद्दार र राहतमा सक्रिया रहेका हास्य कलाकारद्धय एवं समाजवेदी सीताराम कट्टेल र कुञ्जना घिमिरेले बाढी पीडितका लागि पनि नमुना बस्ति निर्माणको घोषणा गरेका छन् ।

यसअघि भूकम्प पीडितदेखि तराईका अल्पसंख्यक गरिव मुसहर समुदायका लागि नमुना बस्ती बनाएर लोकप्रियता हासिल गरेका उनीहरुले स्थापना गरेको सामाजिक संस्था धुर्मुस सुन्तली फाउण्डेशनमार्फत बाढी पीडितका लागि नमुना बस्ती बनाउने घोषणा गरिएको हो ।

बाढीका कारण पीडितहरुको अवस्था एकदमै पीडादायी रहेको, पालमुनी बस्नुपर्ने अवस्था रहेको र यसबाट अरु कुनै पनि मानवीय क्षति नहोस भन्नका लागि फाउण्डेशनले एकीकृत बस्ती निर्माण गर्ने योजना बनाएको फाउण्डेशनले जनाएको छ ।

कट्टेलले आफू नै खटेर तराईका १२ जिल्लाका २३ स्थानमा झण्डैं ६५ लाख बरावरको राहत सामाग्री तथा बालबालिकाहरुका लागि शैक्षिक सामग्री बितरण गरेका थिए । बाढी पीडितहरुका लागि अति आवश्यक कुराहरु समेत नभएको भन्दै कट्टेल र घिमिरेले उनीहरुलाई राहत मात्र भन्दा पनि एउटा बासस्थानको जरुरत भएको बताए ।

एकीकृत नमुना बस्ती निर्माण गर्ने योजना बनाए पनि कहाँ र कति लागतमा बनाउने भन्ने टुङ्गो नलागेको भन्दै उनीहरुले पीडितहरु बढी भएको स्थान र कुनै पनि बिपत्तिले छिट्टै प्रभाव नपार्ने र सुरक्षित स्थानमा बस्ती निर्माण गरिने बताए । योसँगै पाँच अर्ब रुपियाँ लागतमा निर्माण गर्ने भनिएको नयाँ नेपाल परियोजनाको काम पनि संगसँगै अघि बढने उनीहरुले बताए ।

Advertisement

Advertisement

Advertisement