चौधरी र चिनियाँ राजदूतबीच भेटवार्ता, ठूला परियोजनामा चिनियाँ लगानीकर्ता प्रोत्साहित गर्न आग्रह

Advertisement

काठमाडौंः अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउन सफल नेपालका एक मात्रै व्यवसायी चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले चिनियाँ राजदूत यु होङलाईसँग भेटवार्ता गरेका छन् । चौधरी ग्रुपको अवलोकन गर्न आएकी राजदूत होङलाई उनले नेपालका ठूला परियोजनामा चिनियाँ लगानीकर्तालाई प्रोत्साहित गर्न पनि आग्रह गरे ।

राजदूत होङसँग दूतावासका अन्य पदाधिकारी पनि थिए । चौधरीले नेपालमा लगानीको लागि उपयुक्त बाताबरण बन्दै गएको भन्दै भने, ‘पक्कै पनि नेपालमा चिनियाँ लगानी बृद्धि भइरहेको छ । तर, जलस्रोत, पूर्वाधार र वित्तिय क्षेत्रका वृहत परियोजनामा चिनियाँ लगानीकर्तालाई प्रोत्साहित गर्नु जरुरी छ । नेपाल चिनियाँ लगानीकर्तालाई स्वागत गर्न तयार छ ।’

नेपालका वृहत परियोजनामा चिनियाँ र नेपाली लगानीकर्ताबीचको साझेदारी प्रभावकारी हुने भन्दै उनले त्यसका लागि दुवै देशका सरकारले आ–आफ्नो देशका निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने बताए । नेपालमा लगानीको वातावरण कमजोर रहे पनि लगानीपछिको प्रतिफल अन्य राष्ट्रहरूको भन्दा उच्च रहेकाले विश्वभर लगानी फैलाईरहेका चिनियाँ लगानीकर्ताका लागि छिमेकी देश नेपाल आकर्षक गन्तब्य बन्ने बताए ।

राजदूत होङले नेपाल र चीनबीचको आर्थिक सम्वन्ध थप बलियो बन्दै गएको बताइन । उनले दुई देशका निजी क्षेत्रबीच सहजीकरण गर्न आफू तयार रहेको बताउँदै चीनसँगको व्यवासायिक कारोबारमा कुनै समस्या छ कि ? भन्ने जिज्ञासा समेत राखेकी थिइन । नेपालमा चौधरी ग्रुपले सामाजिक क्षेत्रमा पुर्याएको योगदान सकारात्मक रहेको होङले बताइन ।

पछिल्ला दिनमा नेपाल र चीनका विभिन्न शहरहरूबीच सिधा हवाई सम्पर्क कायम हुनुका साथै दुई देशबीचको आर्थिक सम्वन्ध पनि विस्तार हुँदै गएको भन्दै उनले आगामी दिनमा यो अझै बढ्दै जाने बताएको ग्रुपका कर्पोरेट कम्युनिकेशन तथा पब्लिक रिलेशन हेर्ने महाप्रवन्धक मधु पौड्यालले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement