स्थगन गरिएको नेशनल मेडिकलको सम्वन्धन खारेजै गरियो

Advertisement

काठमाडौंः चौतर्फी विरोध र आलोचनापछि त्रिभुवन विश्वविद्यालयले सम्वन्धन स्थगित गरिएको विबादास्पद काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज नै गरिएको छ । त्रिवि कार्यकारी परिषद्ले कलेजको सम्बन्धन खारेज गरेको हो ।

त्रिविको छानविन समितिले बुझाएको प्रतिवेदनका आधारमा नेशनललाई दिएको अस्थायी सम्बन्धन खारेज गर्ने निर्णय गरिएको हो । त्रिविले सर्वोच्च अदालतको २०७१ को आदेशलाई देखाएर साउन १२ गते नेशनललाई अस्थायी सम्बन्धन दिने निर्णय गरेको थियो ।

त्रिविद्धारा गठित छानविन समितिले बुधबार बिहान घट्टेकुलोस्थित उक्त कलेज अनुगमन गरेर प्रतिवेदन तयार गरेको थियो। समितिले मेडिकल कलेजको मापदण्ड नपुगेको प्रतिवेदन तयार गरेपछि त्रिविको उक्त निर्णय आएको हो ।

मेडिकल कलेज सञ्चालन गर्नको लागि कम्तिमा ३०० बेडको अस्पताल सञ्चालन गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको नियममा उल्लेख छ । अस्पतालको स्थलगत निरिक्षणको समयमा अस्पतालमा एक जना पनि विरामी नदेखिनुका साथै अस्पतालको फार्मेसी समेत बन्द अवस्थामा रहेको फेला पारेका थियो । निरीक्षणको समयमा अस्पतालमा मात्र एकजना चिकित्सक थिए ।

त्रिवि उपकुलपति तीर्थ खनियाँका अनुसार आफूहरुले अदालतको आदेशको सम्मान गर्दै यो पटकलाई कक्षा चलाउनका लागि सम्बन्धन दिएइको हो । गोप्यरुपमा सम्बन्धन दिइएको तथ्य बाहिर आएपछि छानविनका क्रममा अस्पतालले स्वास्थ्य मन्त्रालयबाट स्विकृति पनि नलिएको र शिक्षण अस्पतालका रुपमा चालु पनि नगरेको देखिएको थियो । यो पटक कक्षा चल्ने स्थिति नदेखिएपछि अस्थायी सम्बन्धन दिने साउन १२ को निर्णय खारेज गरिएको खनियाँले बताए ।

Advertisement

Advertisement

Advertisement