खुलेन अग्रिम टिकट बुकिङ, सर्वसाधारण निराश भएर घर फर्किए

Advertisement

काठमाडौँ: आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला गर्ने भनिएपनि यातायत व्यवसायीहरुले टिकट वितरण गरेनन् । व्यवसायीले विभिन्न माग राख्दै टिकट बुकिङ नखोल्न दबाब दिएपछि आजदेखि खुल्ने भनिएको टिकट वितरण अवरुद्ध बनेको हो ।

यसअघि यातायात व्यवस्था विभागले १६ भदौमा सरोकारवालाको बैठक गरेर दशैंका लागि अग्रीम टिकट बुकिङ २२ गतेबाट खोल्ने निर्णय गरेको थियो । आजदेखि टिकट वितरण हुने जानकारी पाएपछि बिहान ४ बजेदेखि नै सर्वसाधारण बसपार्क पुगेर लाम लागेका थिए । तर, व्यवसायीहरुले आफ्ना विभिन्न मागहरु तेर्साउँदै टिकट वितरण रोकेपछि सर्वसाधारण निराश भएर घर फर्किन बाध्य भएका छन् ।

त्यतिबेला यो निर्णयलाई आलोचनात्मक समर्थन जनाएका यातायात व्यवसायी अहिले बार्गेनिङ थालेका छन् । व्यवसायीहरुले अग्रिम टिकट बुकिङ खोल्न बसमा छत राख्न पाउनु पर्ने माग राखेका छन् । छतमा सामान र यात्रु राख्ने र ओभरलोडका कारण दुर्घटना बढेपछि सरकारले केही महिनाअघि बसहरुमा छत नै राख्न नपाउने नियम ल्याएको थियो ।

मुग्लिन–नारायणगढ सडकको अवस्था दयनीय भए पनि सरकारले ममर्त नगरेसम्म टिकट बुकिङ नखोल्ने व्यवसायीले चेतावनी दिएका छन् । दशैंकै मौका छोपेर भाडावृद्धिको माग समेत उनीहरुले अघि सारेका छन् ।

Advertisement

Advertisement

Advertisement