‘एमाले कुरा मात्रै गर्छ, मधेसी जनताका लागि काम गर्ने काँग्रेस मात्रै हो’

Advertisement

जनकपुरः कृषि विकास मन्त्री एवं काँग्रेस नेता रामकृष्ण यादवले २ नम्बर प्रदेशमा आफ्नो पार्टी नै पहिलो हुने दाबी गरेका छन् । यहाँस्थित बार एशोसियशनको कार्यालयमा आयोजित कार्यक्रममा यादवले मधेसको विकासको लागि आफ्नो पार्टीले मात्रै काम गरेको भन्दै भने, ‘कांग्रेस मधेसी जनताको अधिकारको लागि लडेको पार्टी हो, मधेसको विकासको लागि हाम्रो पार्टी जति कसैले पनि योगदान गरेका छैनन् ।तपाईहरु इतिहाँस हेर्न सक्नुहुन्छ, त्यसैले यो पटकको निर्वाचनमा जनताले हाम्रो पार्टीलाई अत्यधिक मत दिएर पहिलो बनाउनेछन् ।’

यादवले आउने निर्वाचन संविधान कार्यान्वयनको लागि महत्वपूर्ण खुड्किलो भएको बताए । उनले थपे, ‘आउने चुनाव मधेसको विकासको लागि मात्रै नभएर समग्र मुलुकको लागि पनि उत्तिकै महत्वपूर्ण छ । संविधान कार्यान्यवनको लागि यसले महत्वपूर्ण टेवा पुर्याउनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’

यादवले आफ्नो पार्टीको अग्रसरता र पहलकदमीका कारण संविधान जारी भएको बताए । उनले भने, ‘कांग्रेस एमाले जस्तो कुरा गर्ने पार्टी होइन । हामी काम गरेर देखाउँछौं । र देखाएका पनि छौं । हेर्दै जानुहोला २ नम्बर प्रदेशमा हामी पहिलो पार्टी बन्छौं ।’

उनले वर्तमान सरकारले जनताको हितको लागि काम गरिरहेको समेत जिकिर गरे । यादवले भने, ‘अहिलेको सरकार मुलुकको आर्थिक समृद्धिको लागि गम्भीर भएर काम गरिरहेको छ, मुलुक र जनताको विकासको लागि हामीले काम गरेको कुरा जनताहरुले राम्रोसँग बुझेका छन् ।’

Advertisement

Advertisement

Advertisement