स्थानीयको अवरोधका कारण चाबहिल–साँखु सडकखण्ड विस्तार अझै लथालिंग

Advertisement

काठमाडौंः चावहिल–जोरपाटी–साँखु सडक विस्तार हुन सकेको छैन । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले करिब दुई वर्ष पहिलेदेखि सडक विस्तार कार्य अगाडि बढाए पनि स्थानीयबासिन्दाको अवरोधका कारण विस्तार हुन नसकेको हो ।

कुल लम्बाई ११.४६ किलोमिटर सडकखण्ड रहेको चाबहिल–साँखु सडकमा स्थानीय बासिन्दाको अवरोधका कारण ६.२० किलोमिटरमा कुनै काम हुन सकेको छैन भने ५.२६ किलोमिटर सडकमा आंशिक अवरोध भएको, कतै केही काम भएको र कतै काम नभएको आयोजनाका प्रमुख दीपक केसीले जानकारी दिए ।

आयोजनाले ५५५ बिजुलीका पोल, २७ ट्रान्समिटर, २२० टेलिफोनको पोल, १७ टेलिकम क्याबिनेट, ४७८ रुख र ५६१ घरटहरा हटाउनुपर्नेमा हालसम्म जम्मा ११७ घरटहरा मात्र हटाएको र अरु सबै यथावत रहेकाले काम गर्न समस्या परेको छ ।

चाबहिल–साँखु सडकखण्डको निर्माणमा ढिलाइ भएपछि आज सडक विभागका महानिर्देशक, मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखलगायतको टोलीले उक्त सडकको निरीक्षण गरेको छ ।

निरीक्षणपछि विभागका महानिर्देशक गोपाल सिग्देलले सडक अवरोध नभएका स्थानमा तत्काल काम गर्न आयोजना र सम्बन्धित ठेकेदारलाई निर्देशन दिए । “अवरोध नभएका ठाउँमा काम गर्दै जानुहोस्, अवरोध भएका ठाउँमा हामी सम्बन्धित पक्षसँग बसेर अवरोध हटाउने काम गछौँ,”–उनले भने ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले वाटो विस्तार रोकिँदा ट्राफिक व्यवस्थापनमा समस्या परेको भन्दै सम्बन्धित पक्ष बसेर यसको समाधान चाँडो गर्नुपर्ने बताए । उक्त बाटो विस्तार नहुँदा काठमाडौँको साँखु, भोटेचौर, सिन्धुपाल्चोकको मेलम्चीलगायत स्थानमा आवतजावतमा समस्या परेको छ ।

Advertisement

Advertisement

Advertisement