पहिलो पटक नेपाली धागो तथा कपडाको मेला हुँदै, न्यून बिजकीकरणमा भित्राइने कपडा प्रमुख दुस्मन

Advertisement

काठमाडौंः नेपालमा पहिलो पटक धागो तथा कपडासम्वन्धी मेला ‘नेपाल यार्न एण्ड टेक्सटायल एक्स्पो २०१७’ आयोजना हुने भएको छ । नेपाल धागो उत्पादक संघको आयोजनामा भदौ ३० देखि असोज ३ गतेसम्म भृकुटीमण्डपमा यो मेला हुन लागेको हो ।

नेपालमा विदेशी कपडाहरुको आयात बढिरहेको बेला यस्तो आयातलाई कम गरी मुलुकै धागो तथा कपडा उद्योगहरुको विकासमा बल पुर्याउन मेला गर्न लागिएको संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलामा फेशन शोहरु पनि आयोजना गरिनेछ ।

करिव ४० वटा स्टल रहने मेलामा नेपालमा उत्पादित धागोबाट बनेका उच्चस्तरीय कपडा, होजियरी, सर्टिङ–सुटिङ, निटिङ आदि राखेर प्रचार प्रसार तथा बिक्री गरिने छ । साथै, यसमा स्वदेशमा रहेका कपडा, होजियरी, निटिङ उद्योगको लागि आवश्यक पर्ने सम्पूर्ण ग्रे तथा रंगिन धागोहरुको बारेमा जानकारी दिने कामसमेत मेलामा गरिने छ ।

यार्न एण्ड टेक्सटायल एक्स्पोमा आधुनिक प्रविधिका मेशिनरीसमेत प्रदर्शनीमा राखिने हुँदा उद्योगीहरुलाई नयाँ प्रविधिका बारमा समेत जानकारीको अवसर हुने आयोजकले जनाएको छ । हाल नेपालमा चारवटा मात्रै ठूला धागो उद्योगहरुः रिलायन्स स्पिनिङ, त्रिवेणी स्पिनिङ, जय स्पिनिङ तथा जगदम्बा स्पिनिङ रहेका छन् ।

सरकारी स्वामित्वको बुटबल धागो कारखाना र ज्योति स्पिनिङ उद्योग बन्द भएपछि चार वटामात्रै सञ्चालनमा आएका छन् । यी उद्योगहरुले पोलिस्टर, भिस्कोस, सुती, एक्रेलिक, मिलान्ज, टेक्सराइज्ड, ब्लेण्डेड रंगिन तथा सादा गरी हाल बार्षिक ४० हजार मेट्रिकटन धागो उत्पादन गर्दै आएका छन् । बुटवल र ज्योति हुँदा यो उत्पादन ६० हजार मेट्रिकटनमा रहेको संघका अध्यक्ष पवन गोल्याण बताउँछन् ।

उत्पादनमध्ये पनि मुलुकमा अनुकुल बजार नहुँदा ८० प्रतिशत बाहिर निर्यात हुने गरेको र २० प्रतिशत मात्रै आन्तरिकरुपमा खपत हुने गरेको छ । अघिल्ला बर्षहरुमा नेपाली धागो भारतमा मात्रै निर्यात हुने गरेकोमा हाल तेस्रो मुलुकमा पनि निर्यात हुने गरेको गोल्याण बताउँछन ।

उनले नेपाली धागोहरु उच्चगुणस्तरीय हुँदाहुँदै पनि न्यून बिजकीकरण गरी चोरी पैठारीमार्फत भित्रिएका धागो तथा कपडाहरुका कारण आन्तरिक बजारमा आयातितले ओगटेको बताए । तीस अर्ब रुपियाँ लगानी रहेको यस धागो उद्योगहरु चोरी पैठारीबाट भित्राइएका कपडाहरुका कारण फस्टाउन नसकेको गोल्याणको भनाई छ ।

धेरैलाई रोजगारी दिने, ठूलो पुँजी लगानी हुने र मूल्य अभिवृद्धिका हिसावले यस्ता धागो उद्योगहरुको ठूलो महत्व रहे पनि सरकारले यो महत्वलाई बुझ्न नसकेकाले पहिलो पटक मेला आयोजना गर्न लागिएको भन्दै राम्रो संभावना बोनेको यस उद्योगको विकासमा सरकार गम्भीर हुनुपर्ने बताए ।

धागो उद्योगमा अप्रत्यक्षरुपमा ५० हजार, प्रत्यक्षरुपमा नौ हजारले रोजगारी पाएका संघका पदाधिकारीले जानकारी दिएका छन् । नेपालमा बार्षिक ४५ करोड मिटर कपडा आवश्यक भए पनि पाँच करोड मात्रै आन्तरिकरुपमा उत्पादित हो, बाँकी सबै आयात हुन्छ भन्दै गोल्याणले– हामीले प्रवद्र्धनका लागि होइन । यो उद्योगको महत्व कति छ भनेर बुझाउन मेला गर्न खोजेको हो, यो देशको विकासका लागि ।

उनले सरकारी निकायले समेत नेपालमा उत्पादित गुणस्तरीय कपडाहरु प्रयोग नगर्नु दुखद पक्ष हो भन्दै सरकारले स्वदेशी वस्तुको प्रयोगलाई प्रोत्साहन गर्ने नीति बनाए पनि कार्यान्वयन गर्न नसकेको गुनासो पोखे ।

संघका उपाध्यक्ष धागो तथा कपडा उद्योगलाई सरकारले अन्य क्षेत्रजति महत्व दिन नसकेको बताए । भन्सार छलेर चोरी पैठारीमार्फत आयात हुने र नेपालमा विदेशी ब्राण्डको नाममा चर्को मूल्यमा बिक्री गर्ने संस्कारले नेपाली उद्योगहरु अघि बढन नसकेको उनले बताए ।

केही दिनअघि बाणिज्य मन्त्रालयले दरबारमार्गका पसलहरुमा छापा मार्दा न्यून बिजकीकरण गरी भित्राइएका विदेशी ब्राण्डका कपडादेखि जुत्ताहरु सयौं गुणा बढी मूल्यमा बिक्री गर्ने गरेको पाइएको थियो ।

Advertisement

Advertisement

Advertisement