भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत हालसम्म ५९ हजार ४७६ को स्वास्थ्य उपचारः रेडक्रस

Advertisement

काठमाडौंः नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रभावित क्षेत्रहरुमा गर्दैआएको भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत हालसम्म ५९ हजार ४७६ को स्वास्थ्य उपचार गरिसकेको जनाएको छ । रेडक्रसले गएको जुलाईसम्म स्वास्थ्य शिविर सञ्चालन गरी उनीहरुको स्वास्थ्य लाभ गराउन सफल भएको जनाएको हो ।

त्यसका लागि चार वटा प्रिफ्याव हेल्थपोस्टहरु निर्माण गरिनुका साथै तीन वटा पूराना हेल्थपोस्टहरुलाई पूनःस्थापना काम गरिएको रेडक्रसले जनाएको छ । स्थानीय जनताको माग र आवश्यकतालाई ध्यानमा राखी थप २३ वटा नयाँ प्रिफ्याव्र हेल्थपोस्ट बन्ने क्रममा रहेका छन् । एउटा अर्ध—स्थायी किसिमको अस्पताल पनि निर्माणाधिन अवस्थामा रहेको उसले जनाएको छ ।

त्यस्तै, आठ वटा पूराना स्वास्थ्य चौकीलाई पुनःस्थापना गर्ने क्रममा कामहरु अगाडी बढेको, थप तीन वटा स्थायी स्वास्थ्य चौकीहरु नयाँ बनाउने योजना रहेको, नौ वटा प्रसुती केन्द्रलाई प्रसुती सामग्रीसहित सहयोग गरिएको जनाइएको छ ।

भूकम्प प्रभावित क्षेत्रका दुई हजार १९३ स्वयंसेवकहरुलाई सामुदायिक स्वास्थ तथा फस्ट—एडसम्बन्धी तालिम दिइएको छ भने १६ हजार १८७ आमा तथा बच्चाहरुलाई जाडोको न्यानो लुगाहरु पनि वितरण गरिएको रेडक्रसले जानकारी दिएको छ ।

त्यस्तै, तीन हजार २७४ घरपरिवारलाई लामखुट्टेबाट बच्नको लागि झूलहरु प्रदान गरिएको, आठ हजार ४४६ ले मनोवैज्ञानिक सामाजिक सहयोग प्राप्त गरेको, २९ वटा नगर तथा गाउँपालिकालाई पूर्णरुपमा खोप दिने काम सकिएको छ ।

यस कार्यक्रमअन्तर्गत जीविकोपार्जनको क्षेत्रतर्फ नौ हजार ५९० परिवारलाई केही नगद रकम वितरण गरिनुका साथै पाँच हजार ७२१ लाई जीविकोपार्जन विकासको लागि तालीम उपलव्ध गराइएको, २६४ परिवारलाई जीविकोपार्जनको लागि सरसामान पनि प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

सिंचाईतर्फ १९ वटा नहरहरु निर्माण भइरहेको भन्दै उसले भूकम्प प्रभावित २० हजार ९२३ परिवारलाई खाना पकाउने उन्नत चुलो प्रदान गरिएको, चार हजार ५८३ व्यक्तिलाई विभिन्न क्षेत्रमा दैनिक ज्यालादारीमा काम लगाइएको रेडक्रसको जानकारी दिएको छ ।

संस्थाले आफ्नो सस्थांगत क्षमता विकासको लागि पनि भूकम्प प्रभावित जिल्लाहरुमा जिल्ला शाखा तथा सामुदायिक भवनहरु बनाउने काम भइरहेको भन्दै वित्तिय कर्मचारीहरुलाई तालीम तथा रेडक्रस स्वयंम सेवकहरुलाई सस्थांगत विकासको तालीमहरु पनि प्रदान गरेको बताएको छ ।

Advertisement

Advertisement

Advertisement