विश्वकै खतरनाक विमानस्थल तेञ्जिङ हिलारी मौसम पूर्वानुमान यन्त्र विहिन

Advertisement

सोलुखुम्बुः विभिन्न प्रतिवेदनहरुले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थललाई विश्वकै खतरनाक विमानस्थलको सूचीमा राखेका छन् ।

विमानस्थलको छोटो रनवे, अवतरण गर्ने बेलाको भौगोलिक विकटता, केही समयमै परिवर्तन हुने मौसम आदिलाई उल्लेख गर्दै प्रतिवेदनहरुमा यो विमानस्थललाई खतरनाक विमानस्थलको सूचीमा राखिएको छ । तर यही खतरनाक विमानस्थलमा सुरक्षाका लागि आवश्यक पूर्वाधार तयार गरिएको छैन । छिनछिनमै मौसम बदली भइरहने लुक्ला विमानस्थलमा मौसमको अवस्था थाहा पाउने यन्त्र नै छैन । यस्ता यन्त्र विभिन्न रुटमा पनि राख्ने गरिन्छ तथापि लुक्लाको रुटमा कहीँ पनि यस्तो व्यवस्था छैन ।

यस्तै, लुक्ला विमानस्थलमा लाइटिङ सिस्टम पनि छैन । मौसम खराब भई दृष्टि क्षमता कम भएको बेला विमानलाई अवतरण गराउनका लागि लाइटिङ सिस्टम आवश्यक हुन्छ । लुक्ला क्षेत्रमा हवाईजहाज प्रवेश गरिसकेपछि मौसम खराब भएमा फर्कन सक्ने भौगोलिक अवस्था नभएकाले केही विकल्प नरहने विमान चालकहरु बताउँछन् । सगरमाथा क्षेत्रमा पर्यटक घुम्न आउने मौसममा दैनिक सयको हाराहारीमा विमान अवतरण हुने लुक्ला विमानस्थलमा मौसम खराबीका कारण समस्या दोहोरिरहने गरेको छ ।

वर्षेनीजस्तो विमान दुर्घटना भइरहने यो विमानस्थलमा प्रविधिको प्रयोग गरिएमा जोखिम घट्ने भएपनि त्यस्तो भएको छैन । नागरिक उड्डयन प्राधिकरण, लुक्लाले समस्या रहेको र त्यस्ता यन्त्र राख्न बारम्बार प्राधिकरणलाई अनुरोध गर्ने गरेको भएपनि पूरा नभएको बताएको छ । देशका अन्य जोखिमपूर्ण विभिन्न विमानस्थलमा पनि यस्तो समस्या रहेको बताइएको छ ।

Advertisement

Advertisement

Advertisement