सुन तस्करीमा माओवादी नेताको संलग्नता पुष्टि, प्रहरीले पक्रिने सुइको पाउनासाथ फरार

Advertisement

काठमाडौंः सुन तस्करी मौलाउँदै गएको बेला यस्तो तस्करीमा माओवादीकै नेताको समेत संलग्नता रहेको फेला परेको छ । पहिलो चरणको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचितसमेत भएका राजकुमार पौडेल सुन तस्करीको मुख्य नाइकेका रूपमा प्रहरीले खोजी सुरु गरेको छ ।

दुई साताअघि राजधानीको टोखाबाट १४ किलो र जनकपुरबाट एक किलो सुन बरामद हुनेबित्तिकै फरार रहेका पौडेलले खोजिरहेको छ । उक्त सुनसँगै पक्राउ परेका पेम्बा शेर्पासहित अन्यको बयानका आधारमा पौडेलको संलग्नता खुलेको हो । अनुसन्धानपछि सुन तस्करीको मुख्य योजनाकारको रुपमा राजकुमार पौडेल देखिएसँगै उनी फरार भएका हुन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खोजिरहेका ४० वर्षीय पौडेल माओवादीको तर्फबाट सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका अध्यक्षमा विजयी भएका थिए ।

सीआईबीले पौडेलसँगै राजधानीका सुन व्यापारी रमेश खड्काको पनि खोजी गरेको छ। उनले पौडेलसँग मिलेर ठँहिटीमा पसल पनि सञ्चालन गर्ने र चिनियाँ व्यापारीबाट अवैध सुन भित्र्याउने काम गर्दै आएका अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

तातोपानी नाका नजिकको फुल्पिङकट्टी गाउँ (हाल भोटेकोसी गाउँपालिका–४)का बासिन्दा पौडेलले उक्त नाकाबाट सस्ता चिनियाँ सामान ओसार्ने सामान्य व्यापारीका रूपमा काम सुरु गर्दै सुन तस्कर बनेका थिए । राजधानीमै समेत तीन वटा महल ठड्याउन सफल उनी हिमालपार ट्रक तथा कन्टेनर व्यवसायी संघका पूर्वअध्यक्षसमेत हुन्।

तातोपानी नाका हुँदै तिब्बततर्फ रक्तचन्दनको निकै तस्करी भइरहँदा पौडेल त्यसमा समेत संलग्न रहेको माओवादी नेतृत्वसँग पनि पैसाकै बलमा राम्रो सम्वन्ध बनाउन सफल रहेको, समय समयमा माओवादी नेताहरुलाई चन्दासमेत दिने गर्दथे । शेर्पाले आफूले पौडेलका लागि सुन तस्करी गर्ने गरेको स्वीकार गरेपछि प्रहरी पौडेलको खोजीमा लागेको हो । प्रहरीले तस्कारीमा संलग्न चिनियाँसहित सबैको पहिचान भइसकेको भन्दै उनीहरुलाई पक्राउ गरिने जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement