सुक्खा पहिरो झरेपछि फेरि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Advertisement

चितवनः नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा मंगलबार साँझ सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार साँझ ७ः४० बजे चट्टानसहितको पहिरो खसेको हो ।

पहिरोसँगै खसेको ढुंगाले लागेर सडकमा गुडिरहेको ट्रकमा सामान्य क्षति पुगको छ । चट्टानसहितको पहिरो र रातको समय भएकाले पहिरो हटाउन कठिन भएको उनले बताए । पहिरो खसेको ठाउँ नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्दछ ।

सो सडकको आजै भौतिक योजना तथा यातायत व्यवस्था राज्यमन्त्री सीता गुरुङले निरीक्षण गरी सहज यातायात सञ्चालनका लागि निर्देशन दिएकी थिइन । सोमबार राति परेको पानीले सडक हिलाम्ये भएपछि सो सडकखण्डमा सवारी चाप बढेको छ । नारायणगढबाट मुग्लिन पार गर्न आज कम्तीमा आठ घन्टा लागेको यात्रुले बताएका छन् ।

चाडपर्वमा यात्रुलाई सहज रुपमा घर जाने वातावरण बनाउन मुग्लिन–नारायणघाट सडकमा आउन सक्ने समस्या समाधान गरिने राज्यमन्त्री गुरुङले मंगलबार नै बताएकी थिइन । समस्या समाधानका लागि के गर्नुपर्छ भन्ने अध्ययन गर्न उनको नेतृत्वमा सडक विभाग, मुग्लिन–नारायणघाट सडक आयोजनालगायत सरोकार भएका निकायका प्रतिनिधिले यो सडकको अवस्थाका बारेमा स्थलगत रुपमा अनुगमन गरेको थियो ।

अनुगमनपछि राज्यमन्त्री गुरुङले सडककै कारण यात्रु अलपत्र हुन नदिनेतर्फ मन्त्रालय सचेत रहेको बताइन । यो सडकका सबै खाल्डा पुरी २४ सै घण्टा सवारी चलाउन योग्य बनाइएको छ । बुधबारदेखि नै बेलुकी ८ बजेदेखि राति १२ बजेसम्म उपत्यका बाहिर जाने रात्रि बसको चाप हुने भएकाले ट्रकलगायत मालवाहक सवारी प्रवेश निषेध गरिने आयोजना प्रमुख चन्द्रनारायण यादवले बताए ।

सडक विस्तारका काम नसकिएकाले बाटोको धुलो कम गर्न दैनिक आयोजनाले पानी हाल्ने व्यवस्था मिलाएको पनि उहाँले बताउनुभयो । यो सडकको अनुगमन गर्न दैनिक चार वटा सवारी प्रशासनलाई उपलब्ध गराएको आयोजनाले जनाएको छ । यी सवारीका माध्यमबाट आपतकालीन अवस्थामा उद्धारसमेत गरिनेछ ।

पहिरोको सम्भावित जोखिम भएका स्थानमा खस्नसक्ने माटो ढुंगा पन्छाउन डोजर र स्काभेटरलगायत सामग्रीको व्यवस्था गरिएको छ । अब पहिरोकै कारण सडक अवरुद्ध नहुने दावी गरिएको छ ।

Advertisement

Advertisement

Advertisement