सत्ताइस मेट्रिक टन मह उत्पादन

Advertisement

स्याङ्जाः आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी तिलक डिसीकाअनुसार हरेक वर्ष मौरीका घार गोलासहित वितरण र मौरीपालन सम्बन्धी तालीम दिएका कारण कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन् ।

कार्यालयले युवा लक्षित मौरीपालन कार्यक्रम सञ्चालन गर्न एक लाख ८० हजार रुपियाँ अनुदान दिएसँगै मौरीपालन गर्ने कृषकको संख्यामा वृद्धि भएको हो । कार्यालयले गत आवमा तीन सय आधुनिक घार तथा ५० वटा मौरीसहितका घार वितरण गरेका सूचना अधिकारी डिसीले बताए । अहिले जिल्लाका विभिन्न स्थानमा चार हजार पाँच सय आधुनिक घार तथा करिब एक हजार मुढे घारमा मह उत्पादन हुँदै आएको छ ।

उत्पादन भएको कूल २७ मेट्रिक टन महमध्ये २२ मेट्रिक टन आधुनिक घारबाट र पाँच मेट्रिक टन मुढे घारबाट उत्पादन भएको हो । बीस मेट्रिक टन मह बिक्रीबाट दुई करोड रुपियाँ आम्दानी भएको डिसीले बताए । जिल्लाका किसानले सेरेना जातको मौरीपालनलाई व्यावसायिक रुपमा अगाडि बढाएका छन् । यहाँ उत्पादित मह पोखरा, बुटवल, भैरहवा, काठमाडौँमा बिक्री हुने गरेको छ ।

Advertisement

Advertisement

Advertisement