स्थानीय तहमा जनताका लागि काम गर्न सक्ने नेतृत्व एमालेसँग मात्रै: ओली

Advertisement

सिमराः एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहमा जनताका लागि काम गर्नसक्ने सवल नेतृत्व आफ्नो पार्टी एमालेसँग मात्रै रहेको दावी गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा शुक्रबार आयोजित आमसभामा ओलीले स्थानीय तहमा पनि एमाले नेतृत्वको सरकार जस्तै काम गर्ने नेतृत्व जरुरी रहेको भन्दै त्यो सबल नेतृत्व एमालेले मात्रै दिनसक्ने बताए ।

उनले भने, एमालेको पक्षमा मतदान गरेर आफ्नो नगर, गाउँ र वडालाई समृद्ध बनाउने अभियानमा सहभागी हुन आग्रह गर्दछु। एमालेलाई मधेस विरोधी भनेर प्रचार गर्नेले मधेसका लागि केही पनि काम गरेको छैन।

ओलीले भ्रमको खेती गरेर राजनीति गर्नुको कुनै अर्थ नरहेको भन्दै एमाले मधेसको लागि जनताको काम गर्न हर्दम तयार रहेको बताए। उनले भने, जनतालाई झुक्याएर राजनीति गर्ने पक्षमा एमाले छैन। काम गरेर जनतालाई खुशी राख्नेतर्फ एमाले ध्‍यान केन्द्रित छ।

एमाले सरकारको पालामा मधेससहित सम्पूर्ण देशका लागि धेरै काम भएको भन्दै ओलीले भने, एमालेले काम गर्छ, एमाले सरकारको पालामा धेरै काम भएको छ, जुन जनताले देखिसकेका छन्।

उनले एमाले सामाजिक सद्भावको पक्षमा रहेको भन्दै आफ्नो पार्टीले कसैप्रति विभेद गर्ने नभई सबैलाई समान व्‍यवहार गर्ने बताए। एमालेको नीति राष्ट्रिय एकताको पक्षमा रहेको ओलीको दावी छ ।

Advertisement

Advertisement

Advertisement