राजमार्गमा अनुशासितरुपमा ट्रक तथा टिपर चलाउने पाँच जना चालक सम्मानित

Advertisement

धादिङः नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले राजमार्गमा अनुशासित रुपमा ट्रक तथा टिपर चलाउने पाँच जना चालकलाई रु २० हजार नगदसहित सम्मान गरेको छ । समितिले शनिबार नौबिसेमा टिपर तथा ट्रक चालकलाई ट्राफिक जनचेतनासम्बन्धी राखेको प्रशिक्षणमा उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा झङ्कबहादुर मगर, विष्णुबहादुर तामाङ, नवराज लामा, बाबुराम तामाङ र श्रीराम लामा रहेका छन् । देशका विभिन्न भागमा टिपर तथा ट्रक चलाउने हजारौँ चालकबाट १५५ चालकलाई छनोट गरिएको थियो । उक्त १५५ चालकबाट गोलाप्रथा गरेर पाँच चालकलाई सम्मान गरिएको हो ।

चालकलाई सम्मान तथा प्रशिक्षण दिँदै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ट्राफिक क्षेत्रमा देखिएको समस्याको समाधानको मुख्य आधार नै चालक रहेको बताए । उनले भने, “सडकलाई अनुशासित र मर्यादित बनाउने काम चालकको हो, तपाईँहरु त्यो कार्यमा लाग्नुहोस्, सडकमा देखिएका समस्या समाधान हुन्छ ।”

खनालले ट्राफिक प्रहरी र सवारी चालक दुश्मनका रुपमा नभई मित्रको रुपमा व्यवहार गर्नुपर्ने बताउँदै “पहिला आफू सुध्रिएमात्र अरु सुध्रिन्छन् भन्ने परिपाटीको विकास गर्नु जरुरी छ” भने ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कावा अध्यक्ष डोलनाथ खनालले सडकलाई अनुशासित र मर्यादित बनाउने प्रमुख काम नै चालकको भएको बताउँदै चालक अनुसाशित र मर्यादित भए दुर्घटनामा कमी आउने बताए ।

नजिकिँदो चाडपर्वको समयमा बढी दुर्घटना हुन सक्ने बताउँदै उनले सम्यम भएर सवारी चलाउन चालकलाई आग्रह गरे । धादिङका प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले देशको राजधानी भित्रिने प्रमुख नाका धादिङ भएकाले यस क्षेत्रमा दुर्घटना अत्याधिक हुने गरेको बताए ।

उनले भने “टिपर तथा ट्रक चालकको लापरबाहीका कारण पछिल्लो समय दुर्घटनाको संख्यामा वृद्धि भएको छ ।” नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यातायात क्षेत्रमा देशको खर्बौंको लगानी रहेको भन्दै यसको सुरक्षाका लागि सरकारले आवश्यक पूर्वाधार बनाए ।

Advertisement

Advertisement

Advertisement