सेयर बजारमा आज पनि उत्साहजनक वृद्धि, नेपाल लाइफ एक्लैको २१ करोडको कारोबार

Advertisement

काठमाडौंः साताको पहिलो दिन सेयर बजार परिसुचक नेप्से आइतबार १७ दशमलव ६३ अंकले बढेर एक हजार ५४८ अंक कायम भएको छ । गएको साताको अन्तिम दिन बिहीबार ३७ अंकले बढेको नेप्सेको वृद्धि यो साता पनि कायम रहेको हो ।

सामान्यतया साताको पहिलो दिन सेयर कारोबार राम्रो भए त्यो साताभर नै सकारात्मक हुने अनुमान गरिन्छ । गएको दुई महिना निरन्तर ओरालो लागेको सेयर बजारमा पछिल्ला दिनमा आएको सुधारले विशेषगरी सर्वसाधारण लगानीकर्तामा आशा र राहत मिलेको छ ।

आज कारोबार रकममा पनि सुधार आइ ७७ अर्ब ८० करोड रुपियाँको सेयर किनबेच भएको थियो । गएको बिहीबार यो कारोबार ६३ करोडमा सीमित थियो । बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ता पर्ख र हेरको स्थितिमा रहेको बेला गत बिहीबारदेखि सुधार आएपछि कारोबार बढेको हो ।

दशैं नजिकिएको बेला एकाएक बजार घट्दै जानु र एक्कासी ३७ अंकले बढनुलाई विश्लेषकहरुले अस्वाभाविक र चलखेलको रुपमा व्यख्या गर्दै आएका छन् । आज पनि व्यापार समूहको उपसुचकमा आठ प्रतिशतभन्दा बढिको सुधार आएको छ भने त्यसपछि बाणिज्यको उपसुचक झण्डै दुई प्रतिशतले बढेको छ ।

होटल, वित्त र अन्य समूहले ओरालो लागे पनि विकास बैंक, जलविद्युत र बीमा समूहमा भने सामान्य सुधार आएको छ । आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर एक्लैले १७ करोड ८५ लाख रुपियाँको कारोबार गरेको छ । त्यसपछि धेरै कारोबार त्यही कम्पनीको साधारण सेयर तीन करोड ८० लाख रुपियाँ रहेको छ ।

आज धेरै नाफा गर्नेमा बिशाल बजार कम्पनीका लगानीकर्ता अगाडि छन भने घाटा खानेमा मिथिला लघुवित्त विकास बैंकका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement