बाढी पहिरोले कृषि क्षेत्रमा नोक्सान पुर्याएकाले आर्थिक वृद्धि सोचेअनुसार नहुने विश्व बैंकको अनुमान

Advertisement

काठमाडौंः विश्व बैंकले बाढी पहिरोका कारण कृषि क्षेत्रमा ठूलो नोक्सानी भएकोले यसको असर आर्थिक वृद्धिमा पर्ने अनुमान गरेको छ । बैंकले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बाढी पहिरोका कारण तराईमा धान खेती नष्ट भएको, पशुपंक्षी नष्ट भएकोले आर्थिक वृद्धि चार दशमलव पाँच प्रतिशतको हाराहारीमा सीमित हुने अनुमान गरेको जनाएको हो ।

यस बर्ष साढे सात प्रतिशतको आर्थिक वृद्धि हुने यसअघि अनुमान गरिएकोमा कृषि क्षेत्रमा भएको नोक्सानीका कारण यस क्षेत्रमा वृद्धिदर दुई दशमलव सात प्रतिशतमा सीमित हुने, औद्योगिक क्षेत्रको पाँच प्रतिशत र सेवा क्षेत्रको पाँच दशमलव आठ प्रतिशत कायम हुने अनुमान गरिएको छ । वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा समेत कमी आएकाले यसले वृद्धिदर खुम्चिन सहयोग गर्ने विश्व बैंकका अधिकारीहरुको अडकल छ ।

विश्व बैंकका अर्थविद सुड्युम्न दाहालका अनुसार बाढीको असर अर्को बर्षसम्म रहने भएकाले अर्को बर्षसम्म त्यही चार दशमलव पाँच प्रतिशतको आर्थिक वृद्धि कायम रहनसक्ने बताए । गएको आर्थिक बर्षमा सोचेभन्दा राम्रो झण्डै सात प्रतिशतको आर्थिक वृद्धि हासिल भएको थियो । यस बर्ष बाढीले कुल जनसंख्याको पाँच प्रतिशतलाई असर गरेको, ६४ हजार हेक्टर जमिनमा लगाइएको खेतीमा असर पुगेकोले कृषि क्षेत्रको योगदान घटने दाहालको भनाई छ ।

सन् २०१७ मा सरकारको राजश्व संकलनमा नयाँ रेडर्क कायम भए पनि पुँजीगत खर्चको स्थिति कमजोर रहेको तथ्य प्रस्तुत गर्दै बढदो आयात, घट्दो निर्यात, रेमिट्यान्समा आएको कमी जस्ता कारणले सरकारको चालु खाता घाटातर्फ गइरहेको बताए । यद्यपी पर्यटक आगमनमा भने राम्रो सुधार देखिएको विश्व बैंकको भनाई छ ।

विश्व बैंकका वरिष्ठ अर्थशास्त्री डमिर कोसिकले नयाँ संविधान जारी भएपछि विकेन्द्रकरणको प्रक्रिया सुरु भए पनि अधिकारलाई विकेन्द्रीकरण गर्न धेरै काम गर्न बाँकी रहेको बताएका थिए । उनका अनुसार विकेन्द्रकरणका लागि राजनीतिक, वित्तीय र प्रशासनिक विकेन्द्रीकरण जरुरी रहेको, राजश्व संकलनका लागि स्थानीय तहलाई दिएको अधिकार प्रयोग गर्न दिन बाँकी रहेको, कानुनी स्पष्टता र खर्चको प्रभावकारी कार्यान्वयन प्रणालीको विकास जरुरी रहेको बताए ।

Advertisement

Advertisement

Advertisement