प्रदेश-२ मा मतदान सुरू, मतदाताको उत्साहपूर्ण उपस्थिति

Advertisement

काठमाडौँ:  स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश २ मा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । मतदानका लागि १३६ वटै स्थानीय तहमा उल्लासमय उपस्थिति देखिएको छ ।

मतदानका लागि निकै उत्साहका साथ मतदाता बिहान सबेरै मतदान केन्द्रमा पुगेर लामबद्ध भएर बसेका निर्वाचन आयोगले जनाएको छ । अहिले अधिकांश मतदान केन्द्रमा मतदाताको घुइँचो लागिसकेको छ । तराई–मधेशमा दिउँसो गर्मी हुने भएकाले पनि मतदाताको बिहान उत्साहपूर्ण सहभागिता देखिएको निर्वाचन आयोगले जनाएको छ ।  मतदान साँझ ५ बजेसम्म हुनेछ ।

उक्त निर्वाचन सम्पन्न गराउन दुई हजार १६६ मतदानस्थलमा तीन हजार ५७८ मतदान केन्द्र रहनेछन् भने मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५०० जना कर्मचारी परिचालन गरिएको छ ।

प्रदेश नं २ का एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा विभिन्न पदका लागि निर्वाचनमा २६ लाख ६४ हजार ९५० मतदाताले मताधिकारको प्रयोग गर्दैछन् । यस निर्वाचनबाट छ हजार ६२७ प्रतिनिधि निर्वाचित हुनेछन् भने निर्वाचनको मैदानमा कुल ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस निर्वाचनमा आठजना उम्मेदवार निर्विरोध निर्वाचित भइसक्नु भएको छ । नगरप्रमुख तथा अध्यक्षमा एक हजार ७०९ पुरुष र ६१ महिला मात्रै प्रतिस्पर्धामा छन् । |

यसअघि देशका ६ प्रदेशमा स्थानीय तहको निर्वाचन भए पनि प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी (राजपा) लगायत दललाई सहभागी गराउन निर्वाचन रोकिएको थियो । राजपासहित निर्वाचनको विपक्षमा रहेका दलहरु सहभागी हुन तयार भएपछि त्यहाँ आज निर्वाचन भएको हो ।

Advertisement

Advertisement

Advertisement