काठमाडौंः कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट टुक्रिएर बनेको राप्रपा प्रजातान्त्रिकबाट उद्योगमन्त्री बन्न सफल भएका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका पुत्र सुनिलले आफ्नो काम गर्ने समय थोरै रहेको चाल पाएका छन् ।
केही दिनअघि मात्रै मन्त्री पद सम्हाल्न पुगेका मन्त्री थापाले आफूलाई बधाई टक्राउन आएका नेपाल उद्योग बाणिज्य महासंघको टोलीसँग सोमबार कुरा गर्दै आफ्नो कार्यकाल थोरै रहेकाले औद्योगिक बाताबरणका लागि यो समयमा सक्दो काम गर्ने बताए ।
अर्को महिना संसदको निर्वाचन रहेकाले निर्वाचनसँगै संभवत अर्को सरकार बन्न भएकाले करिव एक महिनाका लागि मात्रै मन्त्री भएका थापाले आफ्नो स्थिति व्यवसायीहरुलाई सुनाएका हुन । उनले भने, ‘मेरो काम गर्ने समय निकै कम भएकाले आफ्नो कार्यकालमा मुलुकभित्र औद्योगिक व्यवसायिक वातावरण निर्माण, लगानीको वातावरण, नीतिगत सुधारसहित उद्योगीहरूले भोग्नु परेका समस्या सम्वोधन गर्न प्रयास गर्नेछु ।’
थापाले आफ्नो प्रयासमा सहयोग गर्न पनि व्यवसायीहरुलाई आग्रह गरे । उनीसँग महासंघकी अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको टोलीले भेट गरेको थियो । टोलीमा महासंघको कार्यकारिणी समितिका सदस्यहरु, महासचिव सुरेशमान श्रेष्ठलगायत थिए ।
भेटमा राणाले नयाँ उद्योग मन्त्रीको कार्यकालमा उद्योग क्षेत्रमा केही महत्वपूर्ण कामहरू हुनुपर्ने कुरामा जोड दिएकी थिइन । उनले औद्योगिक व्यवसायिक नियमावली, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐन, भू–उपयोग नीति जस्ता महत्वपूर्ण कानूनहरु यस अवधिमा आउन सके औद्योगिक क्षेत्र निर्वाध रूपमा अगाडी बढ्ने तथा बाह्य लगानीका लागि उपयुक्त वातावरण बन्ने बताइन ।
अघिल्लो वर्ष अर्थतन्त्रका केही सूचकहरू राम्रा देखिएकाले तीनलाई स्थायित्व दि“दै औद्योगिक व्यवसायिक वातावरण बनाउने कार्यमा नवनियुक्त मन्त्रीको कार्यकालमा उल्लेख्य कार्य हुने विश्वास निजी क्षेत्रले लिएको भन्दै राणाले निजी क्षेत्रले उठान गरेका विषयहरूलाई “फाष्ट ट्रयाक”बाट सम्बोधन गर्न आग्रह गरे ।