सीमा जोडिएका १३ नाका खोल्न चीनसँग प्रस्ताव, बुधबार वार्ता

Advertisement

काठमाडौंः नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गरी सीमा जोडिएका १३ नाका खोल्न सरकारले चीनसँग प्रस्ताव गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले नेपालका लागि चिनियाँ राजदूतलगायत अधिकारीसँग उक्त प्रस्ताव गरेका हुन ।

नेपाल–चीन सडक यातायात सम्झौता कार्यान्वयन गर्ने दस्तावेज (प्रोटोकल) संशोधन गरी थप नाका खोल्ने तयारी भएको उनले बताए । विसं २०५१ मा भएको दुई देश बीचको सडक यातायात सम्झौताका विषयमा वार्ता गर्न चीनको सरकारी प्रतिनिधिमण्डल सोमबार नेपाल आउने मन्त्रालयले जनाएको छ ।

यससम्बन्धी वार्ता गत वर्ष चीनको ल्हासामा भएको थियो । भोलि बुधबार मन्त्रालयका अधिकारी र चिनियाँ अधिकारीबीच वार्ता गरी निष्कर्ष निकालिनेछ । यसअघि चीनसँग खासा–यारी (हुम्ला), खासा–रसुवागढी, खासा–ओलाङ्गचुङ्गोला नाका खोल्ने सम्झौता भइसकेको छ ।

मन्त्री बलायरले सोमबार रसुवागढी–हिल्सा, रसुवागढी–कोरला, खासा–कोरला, रसुवागढी–डोल्पा, खासा–डोल्पा, रसुवागढी–दार्चुला, रसुवागढी–ताक्लाकोट, खासा–ताक्लाकोट, रसुवागढी–ओलाङ्गचुङ्गोला र रसुवागढी–किमाथांका नाका खोल्न प्रस्ताव गरिएको बताए ।

उनले भने, “चीनको राजमार्ग कार्गो ढुवानीका लागि नेपालले प्रयोग पाउने गरी १३ नाका खोल्न प्रस्ताव गरिएको छ । तातोपानी नाका खोल्न पनि चिनियाँ सरकार गम्भीर रहेको राजदूत हङ्गले जानकारी गराउनुभएको छ ।”

भेटका क्रममा तातोपानी नाका बन्द हुँदा चीनसँग आयात निर्यातमा समस्या भएकाले नाका छिटो खोल्न मन्त्री बलायरले अनुरोध गरेका थिए । यो विषयमा पनि बुधबारको वार्तामा सम्झौता गरिने मन्त्रालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement