बिरामीको उपचारमा लापरवाही गर्ने चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने निर्णयप्रति संघको आपत्ति

Advertisement

काठमाडौंः सरकारले उपचारक्रममा गल्ती गर्ने चिकित्सकबाटै बिरामी तथा पीडित पक्षलाई क्षतिपूर्ति भराउने कानुन ल्याउने निर्णय गरेको छ भने चिकित्सक संघले त्यसप्रति आपत्ति जनाएको छ ।

सरकारी निर्णयविरुद्ध चिकित्सकहरू विरोधमा उत्रिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपचारक्रममा बिरामीलाई साइड इफेक्ट भएमा, अंगभंग वा मृत्यु भएमा सम्वन्धित चिकित्सकले नै त्यसको क्षतिपूर्ति पीडित पक्षलाई दिने प्रावधानसहितको छुट्टै कानुन ल्याउने निर्णय गर्दै त्यसका लागि प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशनसमेत दिएको थियो ।

चिकित्सक संघले ७२ घण्टे अल्टिमेटम दिँदै निर्णय सच्याउन अनुरोध गरेको छ । निर्णयलाई ७२ घण्टाभित्र फिर्ता नलिए देशभरका सम्पूर्ण स्वास्थ्य संस्थाहरू पूर्ण रूपमा बन्द गरी आन्दोलनमा उत्रिन बाध्य हुने जनाएको छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ र नियमावली, २०६९ मा उपचारका क्रममा लापरबाही भई बिरामीको मृत्यु भएको खण्डमा वैज्ञानिक अनुसन्धानबाट लापरबाही गरिएको ठहरिएमा, उक्त ऐनमा उल्लिखित समन्वय समितिले क्षतिपूर्ति दिलाउने स्पष्ट व्यवस्था हुँदाहँुदै सरकारले यस्तो निणर्य गर्नु गलत भएको संघको तर्क छ ।

संघको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले ऐनको भावना र मर्म विपरीत सम्पूर्ण चिकित्सकको मानमर्दन गर्ने र पेशेवर सामाजिक अपराधीको मनोबल बढाउने गरी यस्तो निर्णय गरेको छ, सङ्घ यसको घोर भत्र्सना र निन्दा गर्दछ ।’

ओम अस्पतालका स्वास्थ्य संस्थामा सामान्य उपचारका लागि आएका बिरामीहरुको मृत्यु भएको समाचारहरु बारम्बार दोहोरिन थालेपछि सरकारले चिकित्सकहरुलाई बिरामीप्रति संवेदन बनाउन यस्तो कानुन बनाउन खोजेको हो ।

Advertisement

Advertisement

Advertisement