नेपालगञ्जको आकाशमा विमान होल्ड हुने थाले, दशैंमा निजीका दैनिक ३० उडान सेवा

Advertisement

खजुरा (बाँके): नेपालगञ्ज विमानस्थलमा दैनिक हवाई उडानको चाप बढेपछि एयर ट्राफिक जाम हुन थालेको छ । नेपालगञ्जबाट काठमाडौँका लागि दैनिक १० र कर्णाली अञ्चलका लागि २० वटा उडान हुन थालेपछि एयर ट्राफिक बढेको हो । हवाईजहाजको संख्या बढेपछि कर्णाली र राजधानी उडान भर्ने जहाजका लागि पार्किङ समस्यासमेत बढेको छ ।

उडान संख्या बढेसँगै एयर ट्राफिकले नेपालगञ्जको आकाशमै जहाज होल्ड गर्न थालेको छ । कर्णालीमा उडान भर्ने जहाजभन्दा नेपालगञ्ज–काठमाडौँ उडान भर्ने समयमा एयर ट्राफिक र पार्किङ समस्या बढ्ने गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

नेपालगञ्ज विमानस्थल हुँदै काठमाडाँैका लागि बुद्ध एयरका तीन, यतिका तीन, सौर्य र श्री एयरका दुई/दुई उडान दैनिक हुने गरेका छन् ।

कर्णालीका लागि तारा, सीता, यति, सिम्रिक, काष्ठमण्डपका सात जहाजले दैनिक उडान भर्दै आएका छन् । मानसरोवर यात्रीका कारण पनि हुम्लाको सिमीकोटका लागि उडान बढेका छन् ।

ठूला दुई जहाज अटाउने क्षमताको विमानस्थलको पार्किङस्थल छ । एकैपटक दैनिक उडान भर्ने वुद्ध, यति, सौर्य र श्रीएयर होल्डमा भएर पार्किङसमेत समस्या उत्पन्न भएको विमानस्थल कार्यालय प्रमुख प्रतापबाबु तिवारीले बताए ।

साना ट्वीन अटर सातवटासम्म जहाजको क्षमता विमानस्थलमा रहेको छ । एयर ट्राफिक जाम हुन नदिन विमानस्थलले काठमाडौँबाट उडान तालिका आधा घण्टाको फरकमा राखेको छ, तर मौसम प्रतिकूल र होल्ड हुनुपर्ने अवस्थामा समस्या हुने गरेको छ ।

पछिल्लो समयमा नयाँ जहाज थपिएको र पर्यटक बढेपछि उडानको संख्यामा वृद्धि भएको छ ।

Advertisement

Advertisement

Advertisement