आयल निगमको जग्गा खरिद प्रकरणमा दीपक बोहोरालाई समेत कारवाही गर्ने आपूर्तिमन्त्रीको उदघोष

Advertisement

काठमाडौंः आपुर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा निगमका कार्यकारी निर्देशक गोपाल खड्का मात्रै दोषी नरहेको भन्दै अन्य व्यक्तिहरुको समेत संलग्नता रहेको खुलासा गरेका छन् ।

रिपोर्टर्स क्लवमा बुधबार उनले जग्गा खरिदमा अन्य व्यक्तिहरुको पनि संलग्नता भएकोले उक्त प्रकरणमा मुछिएका सबैलाई कारवाही गर्ने उद्धघोष गरे । ती व्यक्तिहरुको नाम भने उनले खुलाएनन् । तत्कालिन आपूर्तिमन्त्री दीपक बोहोराको डिजाइनमा उक्त जग्गा खरिद भएको बताइँदै आएको छ । बोहोरालाई विवादकै बीच शेरबहादुर देउवाले पुनः मन्त्री बनाएका छन् ।

मण्डलले भने, ‘जग्गा खरिद प्रकरणमा चरम भ्रष्टाचार भएको छ, यसबारेमा हामी थप अनुसन्धान सुरु गर्छौं, यसको सम्पूर्ण तयारी भैसकेको छ ।’ उनले थपे, ‘म कसैको नाम र कुनै पार्टीको नाम लिन चाहन्न, कानुनले दोषी ठहर भएका कुनै व्यक्तिलाई मन्त्रीको हैसियतमा म छोड्दिन, धेरै मान्छेको प्रत्यक्ष संलग्नता रहेको र केही ठुला व्यक्तिहरुको पनि हात रहेको सुचना पाएको छु, त्यसैले यस काण्डमा दोषी भेटिएका जोसुकैलाई कानुन अनुसार कारबाही गर्ने विश्वास दिलाउँछु ।’

मण्डलले भने, ‘झापाका जग्गाधनीले मलाई भेटेर भन्नुभएको छ, सुरुमा दुई लाख ५० हजार, तीन लाख र तीन लाख ५० हजार मुल्यमा बिक्री गरेको कुरा भन्नुभएको छ, सुक्ष्म अध्ययन र अनुगमन सुरु गरेका छौँ, यस भ्रष्टाचारमा जोसुकै पर्छ, त्यो व्यक्तिलाई कारबाही हुन्छ, कसैलाई पनि छोडिने छैन ।’

उनले आपुर्ती व्यवस्था सहज बनाउन तथा खाद्यान्नमा मुल्य नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने बताए । जनता महँगीको शिकार हुने र व्यवसायीहरु रातारात धनी बन्ने कुरालाई निरुत्साहित पार्नको लागि दशैं, तिहार तथा छठको बेला बजार अनुगमनलाई आफूहरुले कडा पारेको मण्डलले जनाए ।

उपभोक्ताले पैसा तिरे अनुसारको गुणस्तरयूक्त बस्तु उपलब्ध नगराउने जो कोहीव्यापारीलाई कारबाही गर्ने चेतावनी दिँदै मण्डलले भने, ‘कृत्रिम अभाव गर्नु महान अपराध हो, महंगी बढाएर धनी बन्ने सपना गलत हो, सेवा अुनसारको बस्तु उपभोक्तालाई प्रदान गर्न सक्नुपर्छ, जनता ठग्ने र सरकारी नियम कानुुनलाई पालना नगर्ने जो कोहीलाई मन्त्रालयले छोड्दैन ।’

Advertisement

Advertisement

Advertisement