‘मेरो कद होचो छ भनेर नहेर्नुहोस, म भ्रष्टाचार र राष्ट्रको स्वाभिमानसँग सम्झौता गर्न सक्दिन’

Advertisement

काठमाडौंः सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले बुढीगण्डकी जलबिद्युत आयोजनामा व्यापक आर्थिक अनियमितता भएको भन्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लबमा बोल्दै सभापति उपाध्यायले उक्त परियोजनाबारे तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले हतार–हतार गरेर सम्झौता गर्नु रहस्यमय भएको बताए । उनले भने, ‘बुढीगण्डकी जलविद्युत आयोजना बेचिएको छ, त्यहाँ आयोजना मात्रै होइन हाम्रो स्वाभिमान पनि बेचिएको हो, स्वाभिमान बेच्ने अधिकार कसैलाई छैन, मेरो कद होचो छ की अग्लो भनेर नहेर्नाेस, म स्वाभिमानसँग सम्झौता गर्दिन, यो परियोजना कुनै पनि हालतमा अघि बढ्न सक्दैन् ।’

आयोजना दिइएको चिनियाँ कम्पनी गेजुवाको नेपालमा अहिलेसम्म राम्रो पर्फमेन्स नरहेकोले यो परियोजनाबारे पूर्नविचार गर्नुपर्ने र नयाँ प्रक्रियामा जानुपर्ने उपाध्यायले बताए । उनले भने, ‘हतार–हतारमा सम्झौता गर्नुको कारण के थियो ? यसरी मन्त्री पद नै नभएको बेला हस्ताक्षर किन गरियो ? यसमा ठूलो चलखेल भएको छ, हस्ताक्षर पत्रमा एकातिर चिनीयाँ कम्पनीको पक्षबाट गरिएको छ भने अर्कोतर्फ नेपालबाट व्यक्तिको नाममा हस्ताक्षर गरिएको छ, एउटा व्यक्तिलाई राज्यले कसरी लिने ?

उपाध्यायले कम्पनी कस्तो हो, त्यसको बारेमा थाहा र एकिन जानकारी नै नराखी हतारमा सम्झौता गर्नु गलत रहेको भन्दै थपे, ‘ब्ल्याक लिष्टमा परेको कम्पनीसँग यसरी सम्झौता गर्नु नै गलत थियो, राष्ट्रिय हितविपरित भएको छ, प्रक्रिया र नियत नै बदयिनतपूर्ण छ ।’

स्वदेशी पुँजीलाई प्रोत्साहन गरेर परियोजना बनाउनुपर्ने र अन्तर्राष्ट्रिय पुँजी भित्र्याउनको लागि ग्लोबल टेण्डर आह्वान गर्नुपर्ने सामान्य प्रक्रियालाई समेत तत्कालिन मन्त्रीले मिचेको उनको आरोप थियो । उपाध्यायले अन्तर्राष्ट्रिय बोलपत्रबाट सबैभन्दा सस्तोमा बनाउन सक्ने कम्पनीलाई आयोजना दिनुपर्नेमा त्यसो नगरिनु दुःखद रहेको बताए ।

सभापति उपाध्यायले चार दिनभित्र (असोज ८ गते) चिनियाँ कम्पनी गेजुवासँगको सम्झौता, मन्त्रिपरिषदले गरेको अनुमोदन, हालसम्म भएका प्रयास लगायतका सम्पूर्ण विवरण पेश गर्न पनि निर्देशन समितिले दिइसकेको जानकारी दिए । त्यस्तै समितिले अर्काे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि बयान लिने निर्णय गरेको उनले बताए । उपाध्यायले भने, ‘बुढीगण्डकी जलविद्युत आयोजनाबारे हालसम्म भएका सहमति र सम्झौताहरुबारे अब अर्काे बैठकमा प्रधानमन्त्रीसँग छलफल गर्छाै ।’

उपाध्यायले परियोजना चिनियाँ कम्पनीलाई निर्माण गर्न दिनु बिषयगत र प्रक्रियागत रुपमा गलत भएको बताए । उनले वर्तमान संसदको कार्यकाल छोटो रहेको भन्दै बुढीगण्डकी जलबिद्युत आयोजनाबारेमा यही समितिले छानविन गर्ने र एउटा निर्णयमा पुग्ने विश्वास दिलाए ।

उनले आफ्नै पार्टीका नेता तत्कालिन मन्त्री भएको उल्लेख गर्दै भने, ‘पार्टी सेकेण्डरी कुरा हो, पार्टी त भोलि नरहन पनि सक्छ नि, तर मलाई विश्वास छ मेरो पार्टीले मलाई भ्रष्टाचार र अनियमितता रोक्नको लागि पूर्ण सहयोग गर्छ, किनकी पार्टीको मुल उद्देश्य पनि यही हो ।’

लेखा समितिले पछिल्लो समय बुढीगण्डकी, नेपाल आयल निगम, भैरहवा विमानस्थल, साझा प्रकाशन बारे छानबिन गरिरहेको उनको भनाई थियो । पछिल्लो समय नेपालमा राजनीतिक निर्देशित र सरकार संरक्षित भ्रष्टाचार मौलाएको उनको दाबी थियो ।
उपाध्यायले तत्कालिन उर्जामन्त्री शर्माले नेपालको पानी, जनताको लगानी भनेर नारा दिएको उल्लेख गर्दै भने, ‘बुढीगण्डकीको हकमा के उहाँको भनाई सुल्टो भयो त ? भएन नि ?’

Advertisement

Advertisement

Advertisement