न्यून आयस्तरका उपभोक्तालाई लक्षित गर्दै वाइफाइ जोनहरु विस्तार गर्दै लुप नेटवर्कस्

Advertisement

काठमाडौंः गत बर्षदेखि सेवारम्भ गरेको लुप नेटवर्कस् प्रालिले महंगो इन्टरनेट सेवा खरिद गर्न नसक्ने विशेषगरी ग्रामीण क्षेत्रका उपभोक्तालाई लक्षित गर्दै वाईफाई जोनहरु बनाउँदै जाने विशेष योजना सार्वजनिक गरेको छ ।

कम्पनीले हालै शुभारम्भ गरेको यो प्रोडक्ट घरमै महंगो इन्टरनेट जडान गर्न असमर्थ न्यून आयस्तरका उपभोक्तालाई लक्षित गरी प्रस्तुत गरिएको हो । हाल राजधानीको कुलेश्वर क्षेत्रमा यस्ता वाईफाई जोन विकास गरिएकोमा अब राजधानी छेउछाउका ग्रामीण क्षेत्र र त्यसपछि मुलुकका अन्य क्षेत्रमा विस्तार गरिने छ ।

यस योजनामा ग्राहकले वाईफाई जोनभित्र २० एमबीपीएस स्पिडको इन्टरनेट मात्र रु. १० मा दुई घण्टासम्म, रु. २० पाँच घण्टासम्म, रु. ३० मा हप्ताभर र महिनाभर चलाउने हो भने २५० रुपियाँभन्दा बढि मूल्य उपभोग गर्न सकिने छ ।

यो खालको प्रोडेक्ट ल्याउने लुप नेटवर्क पहिलो कम्पनी भएको यस कम्पनीका कार्यकारी अध्यक्ष सतिष पोखरेल बताउँछन् । उनी भन्छन– नेपालका सबै जनताको घरमा महंगो दरको इन्टरनेट सेवा उपभोग गर्ने क्षमता छैन । त्यस्ता उपभोक्ताले विना पासवर्ड सोझै इन्टरनेट कनेक्शन गरेर चलाउन सकुन भनेर यो प्रोडक्ट ल्याएका हौं ।

पोखरेलले नेपालमा इन्टरनेट सेवा सर्वसुभल हुन नसकेको र भएको पनि गुणस्तरीय हुन नसकेकोले उपभोक्तालाई सुलभ दरमा गुणस्तरीय इन्टरनेट सेवा दिन लुप नेटवर्कसले सेवा विस्तारलाई तीब्रता दिएको बताए ।

केवल टेलिभिजन सेवा पनि सँगसँगै विस्तार गर्ने योजना बनाएको यस कम्पनीले हाल राजधानीको कुलेश्वर क्षेत्र, कलंकीदेखि थानकोट क्षेत्र र जोरपाटी क्षेत्रमा फाइबर इन्टरनेट सेवा दिइरहेको छ । छोटो समयमै कम्पनीका सातसयभन्दा बढि ग्राहक पुगिसकेका छन् । अबको एक बर्षभित्र काठमाडौं उपत्यकाभित्र सबै ठाउँमा इन्टरनेट सेवा बितरण सुरु गरिसक्ने कम्पनीको लक्ष्य रहेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

काठमाडौं उपत्यका बाहिर झापाको दमक र गौरादह, बाग्लुङ बजार फाइबर इन्टरनेट बितरण सुरु भइसकेको छ भने आउँदो हप्तादेखि लाहानदेखि सप्तरीसम्म, बुटवल र भैरहवाको कोटिहवामा विस्तार गर्ने योजना रहेको छ । त्यस्तै, दुई महिनाभित्र हटौंडा, भरतपुर, बुटवल र अर्घाखाँचीको सन्धीखर्कमा समेत इन्टरनेट सेवा सुरु गरी अर्को बर्षसम्म ग्राहक संख्या दुई हजार पुर्याउने लक्ष्य रहेको छ ।

Advertisement

Advertisement

Advertisement