‘विकास निर्माणमा जनताले सेना खोज्न थालेका छन्’ - रक्षामन्त्री

Advertisement

काठमाडौंः रक्षामन्त्री भीमसेनदास प्रधानले विकास निर्माणका ठूला–ठूला परियोजनामा नेपाली सेनाले अत्यन्तै सबलरुपमा कामहरु समयमै सम्पन्न गरेकोले जनताले यस्ता काममा सेनालाई नै खोज्न थालेको बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लवमा उनले पछिल्लो समय हामीले सेनालाई दुईवटा राष्ट्रिय गौरवको आयोजना जिम्मा लिएको र त्यसमध्ये काठमाडौं–तराई द्रुतमार्ग निर्माणको काम सेनाले काम सुरु गरिसकेको बताए । यो आयोजना नेपाली सेनाले मात्रै बनाउन सक्ने प्रधानको दावी छ ।

उक्त परियोजना अन्र्तगत ९९ वटा पुल निर्माण गर्नुपर्ने रहेको र नौ किलोमिटर टनेल बनाउनुपर्ने रहेको बताए भन्दै उनले थपे, ‘पुल निर्माण त सहजै सम्पन्न हुन्छ, तर टनेल निर्माणको लागि चाहिने अत्यावाश्यक सामग्रीहरु भारतबाट ल्याउने तयारी भइरहेको छ ।’

प्रधानले भने, ‘भारतबाट सामग्री ल्याएर भए पनि नेपाली सेनाले आँफै टनेल निर्माणको काम सम्पन्न गर्छ । सेनालाई चाहिने सामग्रीहरुको कुनै अभाव हुँदैन ।’ सेना जनताको मनमा बस्न सफल भएको उनको भनाई छ । जनताले विकास निर्माणका काममा सेना आउनुपर्छ भन्ने गरेको उनले बताए ।

सेनाले बनाएको कर्णाली करिडोर अन्तर्गतको हुम्ला–सिमीकोट सडकको १९६ किलोमिटर दुई वर्षभित्रै सम्पन्न गर्ने भन्दै मन्त्री प्रधानले कालिकोटको नरहरिनाथ गाउँपालिका जोड्ने पुल निर्माण गर्ने काम पनि सेनालाई नै दिनुपर्छ भन्ने माग जनताले गरेको सुनाए । सेनालाई नै उक्त कामको जिम्मेवारी दिने उनले बताए ।

कामको प्रकृति हेरेर खासगरि राष्ट्रिय गौरवका आयोजनाहरुमा मात्रै सेनालाई जिम्मेवारी दिने प्रधानले बताए । सेनाको आफ्नै विश्वविद्यालय खोल्नेबारे कुनै छलफल नै नभएको दावी गर्दै उनले भने, ‘यसबारेमा अहिले कुनै छलफल भएको छैन, यो हल्ला मात्रै हो ।’

Advertisement

Advertisement

Advertisement