खिम्ती–२ मा दश बैंकको ६ अर्ब बढी लगानी: एनआइसी एशियादेखि सानिमा बैंकसम्म

Advertisement

काठमाडौँ: खिम्ती–२ जलविद्युत् आयोजनामा सानिमा बैंकको नेतृत्वमा विभिन्न १० वटा ‘क’ वर्गका बैंकले लगानी गर्ने भएका छन् ।

आज यहाँ आयोजित एक कार्यक्रममा खिम्ती–२ जलविद्युत् आयोजनाको प्रवद्र्धक पिपल्स इनर्जी प्रालि र बैंकका तर्फबाट प्रमुख बैंक सानिमा बैंक लिमिटेडबीच ऋण सम्झौतामा हस्ताक्षर गरियो ।

प्रवद्र्धकका तर्फबाट पिपल्स इनर्जी प्रालिका अध्यक्ष कृष्णप्रसाद आचार्य र बैंकका तर्फबाट सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले हस्ताक्षर गरे । आयोजनामा सिद्धार्थ बैंक, नबिल बैंक, जनता बैंक, एनआइसी एशिया बैंक, एनएमबी बैंक, बैंक अफ काठमाडौँ, सिभिल बैंक, ग्लोबल आइएमई बैंक, एनसिसी बैंकले संयुक्त रुपमा लगानी गरेका छन् ।

सो आयोजनामा कूल रु आठ अर्ब ६५ करोड रहेको छ । त्यसमा बैंकले रु ६ अर्ब ४८ करोड ४० लाख ऋण लगानी गर्ने भएका छन् । कूल ४८.८ मेगावाट क्षमताको सो आयोजना २०७८ असार समान्तमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । दोलखा र रामेछाप जिल्लाको सिमाना भएर बग्ने खिम्ती नदीमा निर्माण गर्न लागिएको सो आयोजनाले २०७३ साल फागुनमा विद्युत् उत्पादनको अनुमतिपत्र पाएको हो ।

कुल २६ करोड युनिट वार्षिक ऊर्जा उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाको खिम्ती खोला र पलाँती खोलाको दोभानभन्दा २५० मिटरमाथि विद्युत्गृह निर्माण हुनेछ भने उत्पादित विद्युत् न्यू खिम्ती सवस्टेशन, किर्नेटारमा जोडिनेछ ।

हाल आयोजनाको प्राविधिक कामका अलावा र पहुँच मार्ग निर्माणको काम भइरहेको छ । आयोजनाको निर्माण शीघ्र शुरु गरिने जानकारी दिँदै अध्यक्ष आचार्यले आयोजनामा तीन हजार ५०० जनाले संस्थापक शेयर लगानी गरिसकेका छन् । कम्पनीले संस्थापनक शेयर लगानीका लागि आम नेपाली नागरिकलाई समेत आह्वान गरेको छ ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत दाहालले आयोजना आकर्षक र प्रवद्र्धक इमान्दार देखिएकाले आफूहरुले संयुक्त रुपमा लगानी गरेको बताए ।

Advertisement

Advertisement

Advertisement