चार वर्षदेखि अवरुद्ध कैलाशखोला जलविद्युत् पुनः सञ्चालन

Advertisement

अछामः वर्षाका कारण पहिरोले नहर भत्किएको चार वर्षपछि अछामको कैलाशखोला जलविद्युत् केन्द्र पुनः सञ्चालनमा आएको छ । भत्किएको नहर र मुख्य उपकरण मर्मत पछि विद्युत् सञ्चालन गरिएको हो ।

विसं २०७० भदौ ६ मा वर्षाका कारण पहिरो जाँदा जलविद्युत् केन्द्रको करिब ६० मिटर नहर भत्किएको थियो । समयमै मर्मतका लागि पहल नहुँदा चार वर्षसम्म अवरुद्ध भएको विद्युत् सेवा पटक पटकको ताकेता र खबरदारीपश्चात् पुनः सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले बताए ।

करिव १२ करोड रुपियाँ नोक्सानी

छसय किलोवाट क्षमताको जलविद्युत् केन्द्रले अहिले ४०० किलोवाट विद्युत् उत्पादन गर्दै आएको छ । उत्पादित विद्युत् सदरमुकाम मंगलसेन क्षेत्रमा वितरण गरिएको नेपाल विद्युत् प्राधिकरण अछाम वितरण केन्द्रका प्रमुख रोशनकुमार ठाकुरले बताए । तत्कालका लागि दिउँसोको समयमा मात्रै विद्युत् उत्पादन गर्ने गरेको उनको भनाइ छ ।

विद्युत् सेवा अवरुद्ध हुनु अघि आयोजनाबाट अछाम सदरमुकाम मंगलसेन, मुख्य व्यापारिक केन्द्र साँफेबगरसहित साविक १६ गाविसका दुई हजार ८५५ उपभोक्ता लाभान्वित थिए । मासिक १२ लाख रुपियाँ भन्दा बढी विद्युत् महसुल संकलन हुने उक्त आयोजना अवरुद्ध हुँदा नेपाल विद्युत् प्राधिकरणलाई करोडौँ नोक्सानी भएको छ ।

चार वर्षसम्म विद्युत् उत्पादन नहुँदा एक करोड ४० लाख १६ हजार रुपियाँ युनिट बिजुली खेर गएको छ । उक्त बिजुलीको प्रतियुनिट ८ दशमलव ५ रुपियाँले हिसाब गर्दा ११ करोड ९१ लाख ३६ हजार रुपियाँ राज्यलाई नोक्सानी भएको छ । यत्रो रकम नोक्सानी हुनु र जनताले विद्युत् सेवा नपाउनुका पछाडि नेपाल विद्युत् प्राधिकरणको गम्भीर लापरबाही भएको स्थानीय मोती कामीले बताए । कार्यालयका कर्मचारीले आयोजना सञ्चालनमा चरम लापरबाही गरेका कारण यस्तो भएको उनको भनाइ छ ।

विद्युत् नियमित गर्न निर्देशन

यहि असोज २ गतेवाट विद्युत् पुनः सञ्चालनमा आएपछि हालै प्रजिअ चौधरीसहितको टोलीले स्थलगत अनुगमन गरी विद्युत् नियमित सञ्चालनका लागि सो वितरण केन्द्रलाई निर्देशन दिएको छ । चार वर्षसम्म विद्युत् सेवा अवरुद्ध हुँदा कार्यालय भवनसमेत जीर्ण हुने अवस्थामा छ । नहरमात्रै भत्किएपछि विद्युत् अवरुद्ध हुँदा समयमै मर्मत नहुँदा मुख्य उपकरणमा समेत खराबी देखिएको थियो । प्रजिअ चौधरीले भने वितरण केन्द्रका प्रमुख ठाकुरलाई भने, “नागरिकलाई उज्यालो दिने तपाईंको कर्तव्य हो, यो वा त्यो बहानामा अब विद्युत् सेवा बन्द गर्न पाइँदैन ।”

स्थलगत अनुगमनमै गएका मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहराले राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि अछाम जिल्लामा विद्युत्भार कटौतीले विद्युत् प्रयोगकर्ता आजित भइसकेकाले अब कैलाशखोला जलविद्युत् केन्द्रबाट स्थानीयवासीका आवश्यकता पूर्ति गराउन पहल गर्नुपर्छ भने । उनले नगरपालिकाको तर्फबाट पावर हाउससम्म जाने सडक निर्माणका लागि पहल गरिदिने प्रतिबद्धता जनाए । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले विद्युत् नियमित सञ्चालनका क्रममा आइपर्ने समस्या समाधानका लागि आफूहरु पनि सहयोग गर्न तत्पर रहेको बताए ।

नियमितरुपमा ४०० किलोवाट विद्युत् उत्पादन गर्न सकिए अछामलाई विद्युत्भार कटौती मुक्त बनाउन सकिने वितरण केन्द्र प्रमुख ठाकुरले बताए ।

Advertisement

Advertisement

Advertisement