नेपाली सिमेन्ट गुणस्तरीय हुँदाहुँदै जलविद्युत आयोजनाहरुमा भारतीय सिमेन्ट प्रयोग

Advertisement

काठमाडौंः नेपाली सिमेन्ट उद्योगीहरुले नेपाल विद्युत् प्राधिकरणले चाहे उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका जलविद्युत् आयोजनामा सिमेन्ट अभावका कारण निर्माण रोकिने अवस्था आएपछि उनीहरुले गुणस्तरयुक्त सिमेन्ट उपलब्ध गराउन आफूहरु तयार रहेको बताएका हुन् ।

प्राधिकरणले अगाडि बढाएको माथिल्लो त्रिशूली थ्री ए, प्राधिकरणको सहायक कम्पनी चिलिमेले निर्माण गरिरहेको माथिल्लो साञ्जेन, साञ्जेन, रसुवागढी र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा सिमेन्ट अभाव देखिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रतिआयोजनामा दैनिक १०० टनदेखि २०० टनसम्म सिमेन्ट आवश्यक पर्ने जानकारी दिए ।

सरकारी आयोजनामा प्रयोग हुने सिमेन्ट आयात गर्दा मूल्य अभिवृद्धि कर तिर्नु नपर्ने र सोझै आयोजनास्थलमा पुग्ने गरेका छन् । तर नेपाली सिमेन्टले भने १३ प्रतिशत मूल्य अभिवृद्धि कर तिर्नु पर्छ ।

नेपाली बजारमा कुनै पनि प्रकारका सिमेन्ट अभाव नभएको उद्योगीको भनाइ छ । सिमेन्ट अभाव भए सिमेन्ट उद्योगले २० बोरा किन्दा एक बोरा छुटको योजना दिएर किन बजारमा आउँथे भन्ने उद्योगीको भनाइ छ । तर प्राधिकरणले भने नेपाली सिमेन्ट तत्काल नजम्ने भएकाले सबै निर्माण कार्यमा प्रभावकारी नहुने जनाउँदै आएको छ ।

भारतीय सिमेन्टलाई पनि नापतौल तथा गुणस्तर विभागले गुणस्तर चिह्न लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । चालू आवको बजेट वक्तव्यमा नेपाल आयात हुने सबै प्रकारका सिमेन्टले गुणस्तर चिह्न लिनैपर्ने उल्लेख छ । नेपालका अधिकांश सरकारी आयोजनाले नेपाली सिमेन्ट प्रयोग गर्ने गरेका छैनन् तर प्राधिकरणले भने नेपाली सिमेन्ट सतप्रतिशत गुणस्तरीय नरहेको बताउँदै आएको छ ।

अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका नेपाली सिमेन्ट नबिकेर अनेकन योजना ल्याइरहेका बेला बजारमा सिमेन्ट पाइएन भन्नु गलत भएको बताउछन् ।

चाडबाडको समयमा सिमेन्ट उद्योग दैनिक एक कार्यसमय मात्रै चलेको र बजारमा कुनै पनि प्रकारको अभाव नभएको र ‘स्टे«न्थ चेक अप’को नाममा नेपाली सिमेन्ट प्रयोग नभएको उनको भनाइ छ । निजी क्षेत्रका जलविद्युत् आयोजनाले नेपाली सिमेन्ट प्रयोग गरेर नै आयोजना बनाइरहेको र अधिकांश नेपाली सिमेन्टले गुणस्तर चिह्न लिइसकेका बेला भारतीय सिमेन्ट पनि उक्त चिह्न लिनुपर्छ भन्ने विषय जायज भएको पूर्व अध्यक्ष मुरारकाको भनाइ छ ।

चालू आवको बजेट वक्तव्यमा सरकारले नेपाली सिमेन्ट उद्योगको पक्षमा निर्णय गरेको छ तर सोही प्रावधान हटाउन भारतीय सिमेन्ट आयातकर्ताले अनावश्यक हल्ला फिजाएको र आयोजनामा सिमेन्ट पाइएन भन्नेजस्ता दुस्प्रचार गरेको उद्योगीको भनाइ छ । नेपाल सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुव थापा कुनै पनि प्रकारको सिमेन्ट अभाव नभएको बताउछन् । “सबै हल्ला हुन्, बजारमा पर्याप्त मात्रामा सिमेन्ट छ”, उनको जोड छ ।

नेपाली सिमेन्ट उद्योगीले उत्पादन गरेको सिमेन्ट भारतीय बजारमा लैजाँदा आइएसआई चिह्न लिनैपर्ने बाध्यकारी व्यवस्था छ । नेपाल आउने सिमेन्टले पनि नेपाली गुणस्तर प्रमाणपत्र चिह्न लिनै पर्ने प्रावधान जायज र नेपाली सिमेन्ट उद्योगको हितमा रहेको उद्योगीको भनाइ छ ।

प्राधिकरणले दुई महिनासम्म लगाएर स्टेन्थ चेक अप गराउनुपर्ने भए पनि परीक्षणमा नआएको बताउने गरेको छ । उदयपुर हेटौँडा सिमेन्टको स्ट्रेन्थ पुग्ने भए पनि मागअनुसार आपूर्ति गर्न नसक्ने प्राधिकरणको भनाइ छ । अधिकांश नेपाली सिमेन्ट उद्योगले ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्दै आएका छन् । नापतौल तथा गुणस्तर विभागले ५३ ग्रेडको मान्यता दिएको छैन । सोही कारण आयातकर्ताले गलत प्रचार गराएको उद्योगीको भनाइ छ ।

भारतबाट कति परिमाणमा सिमेन्ट आयात हुने हो, त्यसको कुनै लेखाजोखा छैन । नेपाली उद्योगको विकास र विस्तार गर्ने हो भने गुणस्तरयुक्त सिमेन्ट उत्पादनमा समेत जोड दिनुपर्ने छ । तर त्यसतर्फ कुनै ध्यान दिइएको छैन । हाल तीन दर्जन सिमेन्ट उद्योग देशभर सञ्चालनमा छन् । तिनीहरुले दैनिक ३० हजार टन बढी सिमेन्ट उत्पादन गर्छन् तर गुणस्तरको विषय देखाएर सिमेन्ट अभाव भयो भनेर गरिने प्रचार भने गलत भएको उद्योगीको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement