ओरालो लागेका कमल थापालाई छोडेर कोमल ओली केपी ओलीतिर

Advertisement

काठमाडौंः गायिका कोमल ओलीले पार्टी फेरेकी छन् । पूर्वपञ्चहरुको टुक्रे पार्टी एक भएर पुर्नगठित भएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा केन्द्रीय सदस्यको रुपमा प्रवेश गरेकी कोमलले सो पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेकी छन् ।

राप्रपा पुनः विभाजित भएर कमल थापा कमजोर भएको मौकामा कोमलले सो पार्टी परित्याग गरी केपी ओली नेतृत्वको एमालेमा प्रवेश गरेकी हुन । राप्रपामा प्रवेश गर्नुअघि उनी एमालेसँगै नजिक थिइन । काँग्रेसका नेताहरुले खासै महत्व नदिएपछि कोमल एमालेतिर लागेकी हुन ।

गायिका कोमल सोमबार एमाले प्रवेश गरेकी हुन । लामो समय रेडियो नेपालमा काम गरेकी ओलीले सक्रिय राजनीतिमा लाग्ने भन्दै राप्रपा प्रवेश गरेपछि जागिर छाडेकी थिइन् । गायिका ओलीले स्थानीय तहको निर्वाचनमा राप्रपाका लागि विभिन्न स्थानमा भोट माग्नसमेत सक्रिय भएकी थिइन् । स्थानीय तहको निर्वाचनमा कमल थापाको राप्रपा लज्जास्पद हार व्यहोरेपछि कोमलले कमलको हात छोडेकी हुन ।

आफ्नै गृह जिल्लामा पुगेर एमाले प्रवेश गरेकी कोमलसंगै काँग्रेसका स्थानीय नेता बलिभद्र राना, डिल्ली खड्का, नयाँ शक्तिकी केन्द्रीय सदस्य निर्मला विक, राष्ट्रिय जनशक्तिकी केन्द्रीय सदस्य कमला देउजा लगायत पाँच सय बढी नेता कार्यकर्ता बिभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेका थिए ।

उनीहरुलाई एमाले उपाध्यक्ष बामदेव गौतमले स्वागत गरेका थिए । उनले एमालेमा रहेर कहिलै पनि कसैलाई पश्चाताप नहुने भन्दै एमालेले पाँच बर्षभित्र सबै गरिवहरुलाई घर प्रदान गर्ने दावी गरे ।

एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेलले एमालेले लिएको नीति र राष्ट्रवादी कार्यक्रमले अन्य पार्टीका नेता कार्यकर्तालाई आकर्षित गरेको बताए । उनले जनताले परिवर्तन खोजेको र त्यसको सम्बोधन अहिले आवश्यक रहेको उनले बताए ।

Advertisement

Advertisement

Advertisement