एमालेभन्दा काँग्रेस राष्ट्रवादी भएको महतको जिकिर, एमालेबाहेक जोसुकैसँग तालमेल हुनसक्ने

Advertisement

काठमाडौंः कांग्रेस नेता प्रकाशशरण महतले मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमालेबाहेकका परिवर्तन एवं संविधान संशोधन पक्षधर शक्तिसँग तालमेल गर्ने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लबमा महतले राष्ट्रिय मुद्दामा साझा दृष्टिकोण राख्ने परिवर्तनकारी शक्तिहरुसँग चुनावमा तालमेल गर्ने बताए । उनले भने, ‘हुन त कांग्रेस आफ्नै बलमा निर्वाचन लड्छ, तर राष्ट्रिय मुद्दामा समान दृष्टिकोण राख्ने र स्थानीय तहको आवश्यकताअनुसार हामी चुनावी गठबन्धन बनाउँछौं, तर एमालेसँग अहिले तालमेल हुँदैन् ।’

महतले प्रमुख प्रतिपक्षी दल एमालेले समुदायबीच फाटो ल्याउने र राष्ट्रिय एकतामा विभाजन ल्याउने काम गरेको समेत आरोप लगाए । उनले थपे, ‘एमालेले समूह समूहबीच विभाजन ल्याउने काम गर्यो, संविधान संशोधनप्रति उसको दृष्टिकोण नै अर्को रह्यो, त्यसैले तत्कालिन अवस्थामा एमालेसँग सहकार्यको कुनै संभावना छैन ।’ यद्यपी महतले एमालेसँग स्वस्थ प्रतिस्पर्धा हुने बताए ।

उनले एमालेले अहिले कायम रहेको कांग्रेस–माओवादी केन्द्रबीचको गठबन्धन तोड्ने प्रयास गरे पनि त्यो संभव नरहेको जिकिर गरे । उनले भने, ‘माओवादीले हामीसँगको गठबन्धन तोड्ला भनेर हामीले अपेक्षा गरेकै छैन, हामीबीचको समझदारी तोड्न खोज्नेहरु नै असफल हुन्छन् ।’ महतले एमालेले तत्कालिन फाइदाको लागि मात्रै हेर्ने गरेको र त्यही स्वार्थ अनुसार नै रणनीति अपनाइरहेको आरोप लगाए ।

त्यस्तै उनले तोकिएकै समयभित्र पार्टीले उम्मेद्धवारको टुँगो लगाउने बताए । महतले भने, ‘१७ गतेभित्र जिल्लाबाट नाम आउनुपर्छ, आएनभने पार्टीले कडा एक्सन लिन्छ ।’ महतले भोलि वा पर्सी नै केन्द्रिय समितिको बैठक बसेर संसदीय बोर्ड गठन गर्ने समेत जनाए ।
एमालेले हिजो गरेको तालमेलसम्बन्धीको निर्णयबारे प्रतिक्रिया दिँदै उनले भने, ‘अब उहाँहरुले राष्ट्रभक्तीसँग तालमेल गर्ने अरे, यो देशमा हामीभन्दा बढि राष्ट्रभक्ति र राष्ट्रवादी उहाँहरु ?, म त भन्छु हामीभन्दा ठूलो राष्ट्रवादी अरु कोही छैन् ।’

Advertisement

Advertisement

Advertisement