दशैं सुरक्षा समीक्षा: ८७ जना बसका चालक र बिचौलिया पक्राउ, १२ ठाउँमा चोरी, १,५२२ जना पक्राउ

Advertisement

काठमाडौँ: ट्राफिक प्रहरी तथा नेपाल प्रहरीले दशैं अवधिभर दशैं मनाउन जाने यात्रुहरुलाई बढी भाडा लिने बसका चालक र बढी पैसामा टिकट बच्ने बिचौलिया गरी जम्मा ८७ जनालाई पक्राउ गरी कारवाही गरेको जनाएको छ ।

ट्राफिक प्रहरी र नेपाल प्रहरीले यातायात व्यवस्था बिभागसंग मिलेर घटस्थापनादेखि असोज १७ गतेसम्मको कारवाहीमा लामो दूरीका यात्रुसंग बढी भाडा लिने ५३ जना बसका चालक र ३४ जना टिकेटको बढी मुल्यलिने बिचौलियालाई पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रंजितकारले कर्पोरेट नेपाललाई जानकारी दिए ।

पक्राउ परेकालाई सार्वजनिक अपराध तथा यातायात व्यवस्था ऐन अनुसार कारवाही प्रक्रिया सुरु गरिएको बताए ।

त्यसैगरी, उपत्यकाका तिनै जिल्लाभरी दशैं अवधिमा १,०९७ जना मादक पधर्थ सेवन (मापसे) गरी सवारी चलाउने चालक पक्राउ परेको जानकारी दिए ।

दशैंको घटस्थापनादेखि असोज १७ गतेसम्ममा ट्राफिक प्रहरीले कूल ८,८०७ सवारी चालकलाई कारवाही गरेको जनाएको छ।

त्यस्तै, बढी भाडा लिने ५० वटा ट्याक्सीलाई कारवाही गरीएको पनि उनले बताए । त्यसैगरी, लेन अनुशासन कायम नगर्ने १८८ जना, सिट बेल्ट नबाध्ने ४३ जना, रुट परमिट बिना सवारी चलाउने २१ जना र गाडीको ढोका खुला राखी सवारी चलाउने २४ वटा गाडीलाई यो अवधिमा कारवाही गरिएको रंजितकारले बताए ।

उनका अनुसार दशैं अवधिभर उपत्यकामा कहिँ कतै ठूला सडक दुर्घटना नभएको र कसैको पनि मृत्यु नभएको जानकारी दिए । सम्मान्य प्रकृतिका सडक दुर्घटना भने २४ वटा भएको बताए ।

ट्राफिक महाशाखाले दशैं अवधिभर १,०५० जना जनशक्ति सडकमा खटाएको पनि रंजितकारले जानकारी दिए ।

यता, दशैंका लागि भन्दै लागु गरिएको विशेष सुरक्षा योजना अन्तर्गतको कारवाहीमा नेपाल प्रहरीले उपत्यकाका तिनै जिल्लाबाट आज बिहान सम्मको तत्थ्याङ्क अनुसार कूल १,५२२ जनालाई विभिन्न कसुरमा पक्राउ गरिएको प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिए ।

जसमध्ये, काठमाडौँबाट १,३०५, १७० जना ललितपुरबाट र ५७ जना भक्तपुरबाट पक्राउ गरिएको छ । १५२२ पक्राउ मध्ये, १९४ जना कानूनी कारवाहीका लागि सम्बन्धित प्रहरी कर्यालयलाई लेखि पठाएको पनि जोशीले बताए । १९४ जना मध्ये, १०४ जनालाई सार्वजनिक अपराध अन्तर्गत र २४ जनालाई जुवा ऐन लगाइएको जोशीले बताए।

यो दशैं अवधिभर त्यस्ता कुनै पनि अप्रिय आपराधिक घटना नभएको र उपत्यका पूर्ण रुपमा शान्त रहेको उनले दावी गरे । यो हुनुमा प्रहरीको सक्रियता र व्यवस्थित परिचालन नै भएको उनले बताए । यति हुँदा हुँदै पनि उपत्यकामा १२ वटा चोरीका घटना भएको जोशीले बताए । प्रहरीले चाड-बाड सुरक्षाका लागि झन्डै ५५ सय जना प्रहरी खात्येको उनले बताए ।

Advertisement

Advertisement

Advertisement