अयोग्य ठहरिएका सरीफ पुनः पार्टी प्रमुखमा चयन

Advertisement

इश्लामावाद, पाकिस्तान: पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफ मङ्गलबार पुनः सत्ताधारी पाकिस्तान मुश्लिम लिग–नवाज (पिएमएल–एन)को प्रमुखमा सर्वसम्मत चयन भएका छन् ।

पाकिस्तानका राष्ट्रपतिले निर्वाचन नीतिमा सुधार गर्नेसम्बन्धि विधेयकलाई स्वीकृत गरेको ठीक एक दिन पछि सरीफलाई पार्टी प्रमुख बनाइएको हो ।

सरीफको पार्टीमा प्रमुखका लागि उनको विरुद्धमा कुनै पनि उम्मेदवारी नपरेको पिएमएल–एनले जनाएको छ । पिएमएल–एनका निर्वाचन आयुक्त चौधरी जफार इकवालले सरीफको विरुद्धमा कुनैपनि उम्मेदवारी नपरेपछि पूर्व प्रधानमन्त्रीलाई नै पार्टी अध्यक्ष भएको घोषणा पिएमएल–एनको सामान्य परिषद् बैठकमा गर्नुभएको हो । बैठकमा उक्त दलका प्रादेशिक तथा राष्ट्रिय सभाका गरी ५०० भन्दा बढी संसद सदस्यको उपस्थिति रहेको थियो ।

पाकिस्तानको निर्वाचन आयोगले सरीफ पिएमएल–एनको अध्यक्ष भएको औपचारिक घोषणा गर्नेछ ।

सरीफमाथि लागेको भ्रष्टाचार आरोपपछि यही बर्षको जुलाईमा उहाँ प्रधानमन्त्री हुन अयोग्य भएको पाकिस्तानी सर्वोच्च अदालतले घोषणा गरेको थियो । पाकिस्तानको निर्वाचनसम्बन्धि कानून अनुसार राज्यको तत्कालिन कानूनले अयोग्य मानेको व्यक्तिले कुनैपनि दलको सदस्य वा पार्टी प्रमुख हुन नपाउने प्रावधान बमोजिम उहाँले पिएमएल–एनको अध्यक्ष पदबाट पनि राजिनामा दिएका थिए ।

तर उक्त प्रावधानलाई पाकिस्तानी राष्ट्रिय सभाले सोमबार संशोधन गरी सरीफलाई दलको प्रमुख बन्ने कानुनी आधार निर्माण गरिदिएको थियो । पछिल्लो संशोधन अनुसार सरकारी सेवामा नरहेको कोही पनि पाकिस्तानी नागरिकले दलको सदस्य वा प्रमुख बन्न पाउने छ ।

यस प्रावधान पास भएपछि यहाँका दुई प्रतिपक्ष दलले निर्वाचनसम्बन्धि हालै गरिएको सुधारलाई असंवैधानिक कदम भन्दै यसविरुद्ध सिन्ध उच्च अदालतमा उजुर दर्ता गरेका छन् ।

Advertisement

Advertisement

Advertisement