चुनाव नगराउन खोजे अविश्वासको प्रस्तावः भीम रावल

Advertisement

काठमाडौंः एमालेका उपाध्यक्ष भीम रावलले सरकार परिवर्तन आफूहरुको प्राथमिकतामा नभएको भन्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकारले गम्भीर भएर काम गर्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लवमा बुधबार उनले भने, ‘हामीले अहिले सरकार फेरबदल गर्नेबारे कुनै रुची राखेको छैन, यो सरकारको काम पनि चुनाव गराउनु नै हो, त्यसैले हामी अहिले सरकार परिवर्तन गर्दैनौं ।’ यदि आफूहरुको एकता प्रयास र चुनावी तालमेलका कारण कांग्रेसमा आएको छट्पटीले निर्वाचनमा प्रतिकुल असर परे आफूहरुले बाध्य भएर पाइला चाल्ने रावलले बताए । उनको संकेत अविश्वासको प्रस्तावतर्फ थियो ।

रावलले भने, ‘हाम्रो उद्देश्य र लक्ष्य अहिले सरकारतिर छैन, चुनावमा हामी केन्द्रित भएका छौं ।’ उनले वर्तमान सरकारले घोषित मितिभित्रै इमानदारितापूर्वक आफ्नो काम पूरा गरोस भन्दै त्यसको लागि सहयोग गर्न आफूहरु तयार रहेको बताए ।

देशलाई राजनीतिक स्थायित्वतर्फ लैजान आफूहरुको तालमेल र पार्टी एकताको प्रयास सुरु गरेको उनको भनाई छ । रावलले भने, ‘देशमा छोटो–छोटो समयमा हुने सरकार परिवर्तनको कारणले राजनीतिक स्थायित्व हाँसिल हुन सकेको छैन, त्यसैले हामीले त्यसलाई चिरी अन्यौलता समाप्त पार्नको लागि वाम एकताको थालनी गरेका छौं ।’

उनले तीन पार्टी एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको चुनावी तालमेल र पार्टी एकताको प्रयासबाट अचम्मित बनेर कांग्रेसले अनिष्टको संज्ञाको दिनु हाँस्यास्पद भएको बताए । रावलले भने, ‘एउटै दर्शन, विचार र सिद्धात भएका हामीहरुबीचको सहकार्यबाट कोही किन यसरी छट्पटीमा पर्नुभएको होला ? मलाई त आश्चर्य लागेको छ ।’

नेता रावलले आफूहरुको एकतालाई लिएर राष्ट्रको अनिष्ट हुन्छ भन्नेहरुलाई नै चुनावमा अनिष्ट हुनेभयो भन्ने भुत सभार भएको आरोप लगाए । उनले भने, ‘अरुको आडमा टेको लगाएर यसो उफ्रिनेहरुको लागि बरु अनिष्ट हुने भयो ।’ उनले बढीभन्दा बढी दलहरु एक ठाउँमा आउनु मुलुकलाई राजनीति स्थायित्व र समृद्धितर्फ डोर्याउन मद्दत पुग्ने विश्वास दिलाए ।

रावलले आफूहरुको एकता प्रयासलाई लिएर केही नेताहरुले लोकतन्त्रमाथि नै खतरा भनेर बोलेको पनि आफूहरुले सुनेको उल्लेख गर्दै भने, ‘लोकतन्त्रको अभ्यास गर्ने पार्टी एमालेभन्दा अरु कोही पनि छैन, त्यसैले यस्तो कुरा वाइहातहो ।’

Advertisement

Advertisement

Advertisement