महतको नजरमा वामएकता– अस्वाभाविक, अनैतिक, अप्राकृतिक, छद्यमभेषी, ‘मोरल’नभएको

Advertisement

काठमाडौंः कांग्रेसका नेता डा. रामशरण महतले तत्काल माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्न नहुने तर्क गरेका छन् । माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब र सुझाव आइरहेको बेला महतले बर्खास्त गर्न नहुने तर्क गरेका हुन ।

शुक्रबार रिपोर्टर्स क्लबमा महतले मुलुक अहिले चुनावको मुख भएकोले यस्तो बेला सरकार फेरबदल र मन्त्रीहरु हटाउने वा थप्ने काम गर्न नहुने बताएका हुन् । उनले भने, ‘चुनावको मिति घोषणा भैसकेको छ, अहिले सरकार तलमाथि गर्न हुन्न, यसले अस्थिरता निम्तिन्छ ।’

महतले भने, ‘सत्तारुढ दल माओवादी केन्द्रले यसरी विपक्षी दलसँग चुनावी तालमेल र वाम गठबनधन बनाउने निर्णय गरेपछि मन्त्रीहरु हटाउनुपर्ने विषयमा आवाज उठेको छ, तर कांग्रेसमा अहिले मन्त्रीहरुलाई बर्खास्त गर्नेबारे छलफल नै गरेको छैन, कुनै निर्णय भएको छैन, हामीले अहिले त्यतातिर ध्यानदिएका छैनौं, यदि त्यसो गरियो भने झनै जटिल समस्या आउँछ, चुनावलाई असर पर्छ ।’

उनले मन्त्रीहरु हटाउने वा नहटाउने भन्नेबारे प्रधानमन्त्रीले निर्णय गर्ने कुरा भएको समेत बताए । महतले एमाले–माओवादी केन्दबीच भएको पछिल्लो चुनावी तालमेल र वामएकताको प्रयास अस्वभाविक, अनैतिक र अप्राकृतिक भएको बताए । उनले भने, ‘यो गठबन्धन छद्यम भेषमा आएको छ, गोप्य रुपमा आएको छ, दुई पार्टीहरुबीचको तालमेल नै विवादस्पद छ ।’

एमाले संविधान संशोधनको नाम नै सुन्न नचाहने र माओवादी केन्द्र जसरी पनि संशोधन गर्नुपर्छ भन्ने शक्ति भएकोले यी दुई दलमा यसबारेमा पनि विवाद भएको उनको भनाई छ । महतले माओवादी केन्द्रलाई खुशी, सन्तुष्टि तुल्याउनको लागि कांग्रेसले धेरै गल्ती गरेको समेत गुनासो पोखे ।

उनले भने, ‘जस्तो स्थानीय तहकै निर्वाचनमा भरतपुरमा कांग्रेसले माओवादीलाई साथदिनु हुँदैन थियो, साथ दिएर गम्भीर भुल गरेकै हो ।’ महतले सत्तामा काँग्रेससँग बस्ने अनि गठबन्धन चाहीँ माओवादीले प्रतिपक्षी दलसँग गरेकोले एमाले–माओवादी केन्द्रबीचको एलयान्स नै ‘मोरल’नभएको आरोप लगाए ।

त्यस्तै उनले एमाले अध्यक्ष केपी ओलीले जति नै ठूला कुरा गरेपनि एक्लै चुनाव लड्न डराएर अहिले आएर माओवादीसँग तालमेल गर्ने निर्णय गरेको आरोप लगाए । महतले थपे, ‘उहाँको ‘टल–टक’पनि देखियो, एक्लै चुनाव लड्न नसकेर वामदललाई साथ लिनुभयो, यो उहाँको बाध्यकारी कदमहोला ।’

महतले दोहोर्याएर ओलीलाई कांग्रेससँग एक्लै चुनाव लड्ने तागद, आत्मबल नभएर नै वाम गठबनधनतर्फ लागेको संज्ञिन आरोप लगाए । प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई त झनै अर्काको काँध चढ्न बानी लागेकोले सोहीअनुसार एमालेको पछि लागेको उनको आरोप थियो ।

महतले भने, ‘कांग्रेसकै बुई चढेर माओवादी केन्द्रले दुई नम्बर प्रदेशमा सोचेको भन्दा धेरै राम्रो गर्यो ।’ माओवादीलाई एक्लै चुनाव लड्दा फाइदा नभएकोले नै उसले यस्तो गरेको महतको आरोप थियो ।

वामपन्थीहरुबीच एकताको प्रयाससँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दश वर्षभित्र नेपालमा साम्यवाद लागु गर्ने भनेर बोलेको कुरा उल्लेख गर्दै महतले भने, ‘साम्यवाद आउनु भनेको अब उदार लोकतन्त्र, बहुलवाद र स्वतन्त्र राजनीतिक पक्षको खिलाफमा होइन, त्यसैले अब मुलुकलाई एक दलीय सर्वसत्तासावदबाट बचाउनको लागि पनि लोकतान्त्रिक शक्तिहरु एक कठ्ठा भएर अघि बढ्नुपर्छ ।’

नेपाली जनता साम्यवादको पक्षमा नरहेको उनले दाबी गरे । महतले भने, ‘साम्यवादको नारा दिएर केही हुनेवाला छैन, जनमत सख्त त्यसको खिलाफमा आउँछ ।’ यद्यपी उनले आफूहरु कम्युनिष्टहरुको गठबन्धनबाट नडराएको स्पष्ट पारे । महतले दाबी गर्दै भने, ‘मुलतः यो कम्युनिष्ट गठबन्धन वा एकीकरण नै टिक्न सक्दैन् ।’
मुलुकलाई समृद्धिको मार्गमा डोर्याउन, सुदृढ लोकतन्त्रको पक्षमा उभार ल्याउन, संविधान कार्यान्वयन गर्न, प्रगतिशील एजेण्डालाई आत्मसात् गर्दै अघि बढ्नको लागि पनि राष्ट्रवादी शक्तिहरु एक ठाउँमा आउनुपर्ने उनको भनाई थियो ।

महतले भने, ‘हुन त अहिले यसको लागि वार्ता तथा छलफल सुरु भैसकेको छ, चुनावलाई ध्यानमा राखेर हामीले छ दलीय बृहत लोकतान्त्रिक मोर्चा गठन गरेका छौं, त्यही अनुसार चुनावी तालमेल पनि हुन्छ ।’

वाम गठबन्धनसँग भीड्नको लागि आफूहरु तयारी अवस्थामा रहेको महतको खुल्ला चेतावनी थियो । उनले भने, ‘हामी वाम गठबन्धनसँग चुनावमा भीड्नको लागि तयारी अवस्थामा छौं, अब कांग्रेस एक भएर जान्छ ।’ यद्यपी उनले कांग्रेस एक्लै बलियो भए पनि चुनावमा अर्को गठबन्धन बनिसकेकोले आफूहरु पनि एकजुट भएर जानको लागि लोकतान्त्रिक मोर्चा बनाएको स्पष्ट पारे ।

Advertisement

Advertisement

Advertisement