पोटाउन लागेको धानमा रोग लाग्दा किसान चिन्तित

Advertisement

रत्ननगर: चितवनमा पोटाउन लागेको धानमा विभिन्न रोग देखा परेको छ । निस्किन लागेको धानमा रोग देखिएपछि किसान प्रभावित भएका छन् ।

भरतपुरका किसान मुक्तिप्रसाद अधिकारीले आफ्नो दुई बिगाहाभन्दा बढीमा लगाएको धानमा रोग लागेर पहेँलपुर भएको बताए । विषादी हाल्दासमेत रोग नियन्त्रणमा नआएपछि धान उत्पादन घट्ने चिन्ता भएको उनले बताए । सँधियारका धान पनि रोग लागेर पहेँलो भएको उनको भनाइ छ ।

चितवनको पूर्वी क्षेत्रमा धान निस्किसकेको अवस्थामा रोग लागेकाले उत्पादन सोचेअनुसारको देखिएको छैन । अहिले पश्चिम क्षेत्रमा रोगको प्रकोप भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेले जानकारी दिए ।

“धानमा एउटा मात्रै रोग छैन, विभिन्न रोग देखियो, खाद्य तत्वको असन्तुलन भएको अनुमान गरेका छौँ, कारण पत्ता लाग्न सकेको छैन ।”, उनि भन्नहुन्छ, “धानको गुबो मर्ने, पात सुक्ने, खैरो र पहेँलो हुने, पातमा ढुसी देखिने र फड्के किरासमेत देखिएको छ ।”

गएको वर्ष यतिबेला चिसो भइसक्ने भए पनि अहिले चिसो नहुँदा पनि समस्या भएको अनुमान गरिएको प्राविधिक सहायक लामिछाने बताउँछन्। शीत परेपछि केही रोग आफैँ हट्ने गरे पनि अहिले शीत पर्नसमेत ढिला भएको कृषि विज्ञहरु बताउँछन् ।

तत्कालीन रामपुर कृषि क्याम्पसका पूर्व डिन सुन्दरमान श्रेष्ठको भनाइ उद्धृत गर्दै खाद्य तत्वको असन्तुलन पनि एउटा कारण भएकामा लामिछाने जोड दिन्छन् । कृषि कार्यालयका अनुसार अहिले समस्या पहिचानका लागि अनुसन्धान भइरहेको छ ।

लगाएको धानमध्ये करिब ३० प्रतिशतमा रोग देखिएको कृषि कार्यालयको भनाइ छ । चितवनमा यसपालि २९ हजार २०० हेक्टर क्षेत्रफलमा धानखेती लगाइएको थियो ।

विगत वर्ष एक लाख तीन हजार मेट्रिक टन धान उत्पादन भएकामा यसपालि एक लाख २५ हजार मेट्रिक टन धान उत्पादन हुने लक्ष्य राखिएको थियो तर धानमा देखिएको रोगका कारण धान उत्पादन घट्ने कार्यालयका प्राविधिक सहायक लामिछाने बताउँछन्।

Advertisement

Advertisement

Advertisement