त्यतिबेला ठूलाबडाको घरघरमा गरगहना पुर्याइदिनुपथ्र्यो– तेजरत्न शाक्य

tej-ratna-shakya

दशै, तिहार र विवाह बढी हुने मङ्सिरसम्मको सिर्जनमा सुनचाँदीका गरगहनाको माग उच्च हुन्छ । सँगसँगै गरगहनाका पारखीहरुको सौखमा पनि परिवर्तन हुने क्रम जारी छ भने अर्कोतर्फ सुन तस्करीका घटना, यसको गुणस्तरदेखि नापतौलको समस्या कायमै छ । यिनै विषयमा कर्पोरेट नेपाल डटकमद्धारा सञ्चालित टेलिभिजन कार्यक्रम ‘कर्पोरेट नेपाल’मा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यसँग गरिएको कुराकानीको सारः

तपाईं त पूरानो व्यवसायी, कति बर्ष हुनुभयो अहिले ?
म ६७ बर्ष भएँ ।

सुनचाँदी व्यवसाय तपाईंको यो पुख्र्यौली पेशा नै हो !
म यो व्यवसायमा लागेकै २०२२ सालदेखि ।

तपाईंले व्यवसाय सुरु गर्दाको अवस्था र अहिलेको तीब्र प्रतिस्पर्धाको अवस्थामा के अन्तर छ ?
धेरै अन्तर छ । पहिला एकदमै कम मात्रामा सुनचाँदी पसल थियो । फेरि हाम्रो होम डेलिभरीको बढी हुन्थ्यो । धेरै ठूला बडा मान्छे थिए, उनीहरुको घर घरमा जानुपर्ने स्थिति थियो । अहिले त्यो स्थिति पनि छैन । समय पनि छैन । अहिले पनि थुप्रै बढेको छ । पहिला एउटा बिहेको काम गर्नुपर्यो भने एक बर्ष पहिलेदेखि गहनाको जोहो गर्नुपथ्र्यो । अहिले त एक हप्तामा काम गर्नुपर्ने स्थिति आइसकेको छ ।

शाक्य भनेपछि सुनचाँदी कै कारोबार गर्ने हो होइन ?
अधिकांश त्यही हो ।

तपाईंहरु जस्तो परम्परागत पेशा गर्ने र नयाँ आउने व्यवसायी कति छन् अहिले ?
अहिले परम्परागत व्यवसाय गर्ने एकदम थोरै भइसके । अहिले २५ प्रतिशत पनि छ कि छैन भन्ने स्थितिमा आइसकेको छ । हामी अल्पमतमा परिसक्यौं । पहिले टोल टोलमा गएर खोज्नुपथ्र्यो । अहिले त बाहिरबाट धेरै पेनिट्रेशन भएको छ । ७५ जिल्लाबाटै आएर काठमाडौंमा व्यवसाय सुरु भएको छ ।

यो पेशामा किन यति धेरै मानिसको आकर्षण बढेको ? फाइदा धेरै हुने भएर हो कि ठगी गर्न पाइने भएर हो ?
त्यस्तो त होइन । फाइदा आफ्नो मेहनतअनुसार हुन्छ । जुनसुकै व्यापार गर्दा पनि मेहनतका साथ गर्दा फाइदा भइहाल्छ । अर्को ठग्ने काम भनेको यस्तै हो संसारमा । इमान्दारितापूर्वक गर्यो भने आफ्नो इज्जत र विश्वास बढ्छ । एउटा व्यापारीले त्यस्तो किसिमको मनसाय राख्नै हुँदैन । अर्को कुरा यो व्यवसायमा किन मान्छे बढेको भने लगानीको क्षेत्र भएन । नेपालमा २०६२–६३ अघि जुन द्धन्द्ध भएको थियो, त्यसले उद्योगधन्दा धरासायी हुँदै गयो । कुनै पनि देशको विकास उद्योगधन्दाको विकास नभई हुँदैन । उद्योगधन्दामा लगानी गर्न नपाएपछि मानिसले कहाँ लगानी गर्ने ? भन्ने प्रश्न उठेको छ । मेरो विचारमा सुनचाँदी भनेको लिक्वीड क्यासकै रुपमा हो । कहीं लगानी जोखिम हुन्छ, कहीं के हुन्छ । त्यो भन्दा सुनचाँदीमा लगानी गर्न पायो भने आफ्नो सम्पत्ति आफैंसँग हुन्छ भन्ने धारणा हुनसक्छ । त्यो भएर लगानी बढेको देखिन्छ ।

अर्को कुरा यो व्यवसायमा लागेका व्यवसायी र कालिगढको पुँजीगतरुपमा त्यति वृद्धि भएको छैन ।