‘निक’ ट्रान्सफर्मर २५ बर्षमा, कुशकुमारले भावुक हुँदै सोधे– उद्योगमैत्री नीति र संरक्षण कहिले हुन्छ ?

Advertisement

काठमाडौंः नेपालमा ‘निक’ ब्राण्डको ट्रान्सफर्मर उत्पादन गरी निर्यातसमेत गर्दै आएको नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालिले आफ्नो रजत महोत्सव मनाएको छ । पच्चिसौं बार्षिकोत्सवको अवसरमा आइतबार कम्पनीले विशेष कार्यक्रमको आयोजना गर्यो ।

नेपालमा संभवतः पहिलो पटक विदेशी लगानी र प्रविधि भित्राएर पहिलो पटक ट्रान्सफर्मर उत्पादन गर्न सफल निकले हालसम्म १ केभीएदेखि पाँच हजार केभीएसम्मका विद्युतीय ट्रान्सफर्मर उत्पादन गर्दै आएकोमा अब क्षमता वृद्धि गरी भोल्टेज सिस्टम १केभी १३२ केभी क्षमतासम्मका ट्रान्सफर्मर उत्पादनका लागि भौतिक पूर्वाधार र प्रक्रिया पूरा गरेको छ ।

निकका ट्रान्सफर्मर ठूलो संख्यामा भुटानमा निर्यात हुँदै आएको र भारत तथा बंगलादेशमा समेत निर्यातको तयारी भइरहे पनि पछिल्लो समयमा स्वदेशकै नेपाल विद्युत प्राधिकरणले भने किन्न आनाकानी गर्दै आएको छ । त्यसबाहेक उसले नेपाल टेलिकम, एनसेल, विद्युत सरकारी संस्था, अस्पताल जस्ता संस्थाहरुलाई समेत ट्रान्सफर्मर बिक्री गर्दै आएको छ ।

neek-nepal-ekratबार्षिकोत्सव समारोहमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्षसमेत भइसकेका निकका कार्यकारी निर्देशक कुशकुमार जोशीले भावुक मन्तव्य दिएका थिए । उनले आफूहरुले उद्योग सुरु गर्दा अविवाहित रहेको र निकै अप्ठ्यारा दिनहरुबाट गुज्रिएर निकलाई अहिलेको अवस्थामा ल्याउन सफल भएको बताए ।

जोशीले कच्चा पदार्थ, प्रविधि, लगानी विदेशी (थाइल्याण्डको)को भित्राएर नेपालमा उद्योग सञ्चालन गर्नु सजिलो थिएन भन्दै अहिले १० हजार केभीएसम्मको ट्रान्सफर्मर बनाउनसक्ने अवस्थामा पुगेको बताए । नीतिका कारण नेपालमा उद्योगहरु फस्टाउन नसक्ने अवस्था रहेको उनले अनुभव सुनाए ।

एउटा नेपाली उद्योगको उत्पादन विदेश निर्यात हुँदा त्यसले पहिला राष्ट्रको पहिचान दिने भन्दै जोशीले रोजगारी सिर्जना गर्ने, कर तिर्ने यस्ता उद्योगहरुको विकासमा राज्यले नै संरक्षण र विकासको नीति लिनुपर्नेमा त्यस्तो हुन नसकेको गुनासो पोखे । उनले उद्योगमन्त्री नीति र संरक्षण कहिले हुन्छ ? भनी सरकारी पक्षलाई प्रश्न गरेका थिए ।

आफूहरुको सफलताको प्रमुख कारण नै गुणस्तर भएको उनले बताए । अध्यक्ष जोशीले गुणस्तरीय उत्पादनसँगै ग्राहक सेवा र मेहनतका कारण निक ट्रान्सफर्मरको माग स्वदेश र विदेशमा बढ्दै गएको भन्दै अब नेपाली प्राविधिकसमेत दक्ष भइसकेकाले विदेशीको आवश्यक नपर्ने बताए ।

neek-nepal-ekratगएको २५ बर्षमा आफ्नो उद्योगमा एक दिनपनि हडताल नभएको भन्दै उनले त्यसको कारण हामी परिवारको रुपमा काम गरेकाले हो भने । सफलताको धेरै जस आफ्ना कर्मचारीहरुलाई दिएका जोशी इन्जिनियर पनि हुन ।

उर्जामन्त्री महेन्द्र शाहीले अहिलेको पुँजीवादी युगमा दुनियाँसँग प्रतिस्पर्धा नगरी अघि बढ्न सकिन्न भन्दै नेपालको कानुनदेखि नेता र कर्मचारीसमेत विकासको बाधक भएको स्वीकार गरे ।

कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रामीण विद्युतीकरण सामुदायिक संस्थालाई एक थान ट्रान्सफर्मर निःशुल्क प्रदान गर्न र पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका इलेक्ट्रिकल इन्जिनियर समूहअन्तर्गत अन्तिम बर्षमा अध्ययनरत विद्यार्थीलाई खोज तथा अनुसन्धान विद्युतीय ट्रान्सफर्मर विषयको पाठ्य सामग्रीहरु पाठ्यक्रममा समावेश गर्न समझदारी भएको थियो ।

neek-nepal-ekrat

Advertisement

Advertisement

Advertisement