नेपाल बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं : नेपाल बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको लिलामीमा रहेको २ लाख ११ हजार ५१५ कित्ता संस्थापक सेयर भर्ने आज मंगलबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ ।

सेयर लिन इच्छुक बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीबाट प्रतिकित्ता न्यूनतम ३ हजार ५० रुपियाँलाई आधार मानी आवेदन दिनुपर्नेछ । सो भन्दा कम भाउ तोकी दिएको आवेदन स्वीकृत नहुने बैंकले जनाएको छ । यसमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी बाहेकका कम्पनी र व्यक्तिहरु सहभागी हुन पाउने छैनन् ।

सेयरका लागि आवेदन दिंदा न्यूनतम १० हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन फारम बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा पाइनेछ । बोलपत्र आजै बिक्री प्रबन्धकको कार्यालय नारायाणचौर नक्सालमा खोलिनेछ ।