मध्यपूर्व हाम्रो कर्मथलो मात्रै हो, हामीले कमाउने सबै मातृभूमिकै लागि हो– आरके शर्मा

Advertisement

काठमाडौंः गैरआवासीय नेपाली संघ (एनआरएनए)को नजिकिँदो आठौं विश्व सम्मेलन तथा महाधिवेशनमा मध्यपूर्व संयोजकका लागि उम्मेदवारी घोषणा गरेका राजेन्द्रकुमार (आरके) शर्मा कतारका एक सफल र अग्रणी नेपाली व्यवसायी हुन । संघमा हाल कार्यकारिणी सदस्यको भूमिकामा रहेका उनी निर्माण व्यवसायी हुन । कतारका थुप्रै साना ठूला निर्माण आयोजनाहरुमा संलग्न आरके शर्मा कतारबाहेक, दुवई, अमेरिका र नेपालसम्म पनि आफ्नो व्यवसायलाई विस्तार गर्न सफल छन् । त्यो बाहेक स्वास्थ्य क्षेत्रमा पनि उनको लगानी छ । शर्माले मध्यपूर्वमा रहेर डेढ दशक समय बिताइसकेका छन् ।

कतार आफ्नो कर्मथलो भए पनि नेपाल आफ्नो जन्मथलो भएकोले आफूहरुले कमाउने पुँजी, प्रविधि र ज्ञान अन्ततः नेपालकै लागि हो भन्छन् शर्मा । मध्यपूर्वको मुख्य समस्या त्यहाँ काम गर्ने लाखौं नेपाली दाजुभाईहरुको उचित पारिश्रमिक र भौतिक तथा सामाजिक सुरक्षा नै हो भन्दै उनी हामी जस्ता गैरआवासीय नेपालीले नेपालमा पुँजी प्रविधि भित्राउने भन्दै गर्दै खबौं रुपियाँमा नेपालमा रेमिटान्स भित्राउने त्यो लाखौं युवा वर्गको भविश्य संघ र राज्य उत्तिकै संवेदनशील हुनु जरुरी छ भन्छन् । शर्मासँग गरिएको संक्षिप्त कुराकानी–

मध्यपूर्व संयोजकका लागि तपाईंको उम्मेदवारी किन ?
मध्यपूर्व संवेदनशील क्षेत्र हो । नेपालमा अवसर नदेखेर रोजगारीका लागि त्यहाँ पुगेर धेरै युवाहरु कष्टकर र जोखिमपूर्ण काम गरेर घरका लागि, मुलुकका लागि पैसा पठाइरहेको हुन्छ । जीवनको महत्वपूर्ण समय अर्काको देशका लागि बिताउन बाध्य उनीहरु भोलि फर्किएर आइसकेपछि के त ? उनीहरुको सामाजिक सुरक्षा खोई ? हामी व्यवसाय गर्नेहरुको पनि सामाजिक सुरक्षा छैन । अहिले त हामी बल भइन्जेल काम गछौं । पैसा पठाउँछौं नेपाल । भोलि आइसकेपछि अलि अलि भएको पैसा पनि सकिन्छ । कसरी बुढेसकालमा गुजारा गर्ने ? यो चोटिलो प्रश्न छ । यो कुरामा गैरआवासीय नेपाली संघ र नेपाल सरकार दुवै जिम्मेवार हुनुपर्छ । त्यसका लागि हरेकले पठाउने पैसाको निश्चित प्रतिशत रकमको कोष बनाएर उत्पादनमूलक क्षेत्रमा लगानी गरिदियो भने व्यवस्था सरकारले गरिदियो भने पनि त्यसले मुलुकको अर्थतन्त्रमा पनि योगदान पुग्छ, लगानी गर्नेहरुलाई पनि भोलिका दिनमा निरन्तर प्रतिफल मिल्छ ।

सँगसँगै, हरेक दिनजसो ज्यान गुमाउने नेपाली दाजुभाईहरुको लाश नेपाल फर्किने गरेको छ । यो अवस्थालाई न्यून गर्न उनीहरुको कार्यस्थलमा भौतिक सुरक्षा कसरी गर्ने ? कसरी पारिश्रमिक वृद्धि गर्ने ? वैदेशिक रोजगारीलाई सुरक्षित कसरी गर्ने ? यस्ता कुरामा मैले भूमिका खेल्छु । हिजो पनि खेल्दै आएको हो । उठाउँदै आएको हो । मध्यपूर्वको यो खालको समस्यालाई कसैले पनि प्राथमिकतामा राखेर उठाएको मैले पाएको छैन । त्यो अभाव पूर्ति गर्न म सक्षम छु ।

साथै, मध्यपूर्वबाट नेपालमा लगानी बढाउन, पर्यटन प्रवद्र्धन, सुरक्षित बैदेशिक रोजगार बनाउनका लागि मध्यपूर्व संयोजकमा उम्मेदवारी दिएको हो । लगानी भित्राउने कुरा नेपालीको मात्रै होइन त्यहाँका व्यवसायीको, त्यहाँको सरकारको पनि हो । त्यो बाताबरण गैरआवासीय नेपाली संघमार्फत बनाउन सकिन्छ ।

तपाईंले भनेका यी कुराहरु गर्नलाई किन आरके शर्मा नै ?
म गैरआवसीय सँघमा पोस्टभन्दा काम गर्ने मान्छे हो । अहिलेको अवस्थामा धेरै लामो समयदेखि मध्यपूर्वका मुद्दाहरु उठ्दै आएका छन् । त्यसलाई सम्बोधन गर्ने काम चुनौतिपूर्ण छ । मध्यपूर्वलाई देखाउने कुरा कस्तो भयो भन्दा बिरालोलाई बाघ देखाएको जस्तो भइरहेको छ । समस्या देखेर पनि त्यसमा छिर्न सकेको छैन । अर्को कुरा ग्लोबल इन्भेष्टमेन्ट गर्नेमा मध्यपूर्व लगभग नम्बर तीनमा पर्छ । तर पनि हाम्रो आँखा त्यहाँ पुग्न सकेको छैन । हामी युरोप, अमेरिका, अस्ट्रेलिया मात्र गइरहेका छौ । हामी नेपाल सरकार नेपाली दूतावाससँग मिलेर गयौं भने छिटो लगानी भित्र्याउन, ठूलो लगानी भित्राउन सक्छौं । पर्यटकहरु भित्राउन सक्छौं । मध्यपूर्वका पर्यटक भनेका अन्य देशका भन्दा धेरै खर्च गर्ने पर्यटक हुन । उनीहरुलाई सुहाउँदो आथित्य सत्कार अझै नेपालमा बन्न सकेको छैन ।

म एनआरएनका हरेक अभियानमा सहभागी हुँदै आएको छु । प्रवासी नेपालीहरुका प्रायः हरेक कार्यक्रममा सहभागी हुने र सामाजिक कामहरुमा सक्दो योगदान दिँदै आएको छु । मलाई काम गर्न टिमवर्कमा विश्वास लाग्छ । मिलेर नै काम गरौं भनेर मध्यपूर्व संयोजकमा यसपटक उम्मेदवारी दिएको हो । सबै मिलेर जानुपर्छ भन्ने हिसाबमा मैले यस पटकका लागि कुरेको हो । मलाई विश्वास छ साथीहरुले हाम्रो भिजन सफल बनाउनका लागि मलाई साथ दिनुहुन्छ । भिजन सफल बनाउन सबै मिल्नुपर्छ । एक्लैले केही गर्न सकिदैन ।¬

मध्यपूर्वबाट आउने रेमिटान्स बढाउन, यसको सही सदुपयोग गर्न तपाईंको दृष्टिकोण के हो ?
नेपालबाट जाने अधिकांश अदक्ष हुने गरेका छन् । उनीहरुलाई त्यहाँको आवश्यकताअनुसार दक्ष बनाएर पठाउने हो भने अहिले आउने रेमिटान्समा निकै बढ्ने थियो । अरु विभिन्न देशका नागरिकले पाउने तलव सुविधा उच्च छ । त्यसको कारण उनीहरु शिक्षाको स्तर, अनुभव र सिप हुनु हो । नेपालीको शैक्षिकस्तर सिप, क्षमतामा कमि भएकै कारण उनीहरुसरह सुविधा पाउन सकेका छैनन । यो स्थितिलाई हामीले बदल्नुपर्नेछ । यद्यपि मध्यपूर्वले पठाएको रेमिट्यान्सले देश धानिएको छ । तर नेपाली युवाहरुले दुःख गरेर कमाएर पठाएको पैसाको खासै सदुपयोग हुन सकेको छैन् । मैले अघि भनिसके यो पैसाको सही सदुपयोग गर्ने काम सरकारले गर्नुपर्छ । विदेशबाट भित्रिने पैसालाई प्रतिफल मिल्ने क्षेत्रमा लगानी गरेर देशले पनि फाइदा लिने, पैसा पठाउनेहरुले पनि भविश्यमा उचित प्रतिफल पाउने व्यवस्था मिलाउनुपर्छ । हामीले कमाएर पठाएको रेमिट्यान्स सही क्षेत्रमा लगानी गर्न नसके त्यसको औचित्य हुँदैन । हामी वैदेशिक लगानी भन्दै कराइरहेको बेला नेपालीले कमाएको पैसाको अबमूल्यन भइरहेको छ । खबौंमा भित्रिने पैसालाई प्रयोग गरेर देश विकास गर्ने कदम चाल्न सरकारले ढिलो नगरोस । हाम्रो दबाब त्यसका लागि हुन्छ ।

एनआरएनएको हालको अभियानलाई कसरी हेर्नुभएको छ ? कसरी अघि बढनुपर्छ भन्ने लाग्छ ?
यो अभियान भनेको नेपाललाई बनाउने अभियान हो । नेपाललाई माया गर्ने अभियान हो । विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने अभियान हो । संगठित भएर मातृभूमिका लागि विदेशी पुँजी, प्रविधि, पर्यटक भित्राउने अभियान हो । व्यापार तथा आर्थिक सम्वन्ध बढाउने र नेपालको कला संस्कृतिलाई विश्वमाझ पुर्याउने अभियान हो । यसैका लागि हाम्रा अग्रजहरुले यो संघको स्थापना गर्नुभएको हो । हामी पनि त्यसैका लागि काम गरिरहेका छौं । त्यसलाई परिस्कृत गर्दै जाने, अभावलाई पूर्ति गर्ने काम नयाँ पुस्ताले गर्दै जान्छ । हामी अझै पनि प्रारम्भिक अवस्थामै छौं । पहिलो पुस्तामै छौं । जति पूरानो हुन्छ, त्यति यो संघको योगदान र महत्व बढ्दै जान्छ ।

रोजगारीको सिलसिलामा, अध्ययन र अवसरको खोजीको सिलसिलामा विश्वका विभिन्न मुलुकमा पुगेका नेपालीहरुलाई आफ्नो मातृभूमिप्रति जिम्मेवार बनाउने काम गैरआवासीय नेपाली संघले गर्दै आएको छ । गर्नुपर्छ । संघले अझै पनि धेरै काम गर्न बाँकी छ । त्यो काम अबको नेतृत्वले गर्नुपर्छ । नेपालमा आएर काम गर्ने कुरामा सरकारले पनि सहज बाताबरण बनाइदिने काम गर्नुपर्छ । मुलुकमा राजनीतिक स्थिरता, शान्ति भएन भने विदेशमा बसेका नेपालीहरुलाई ठूलो चिन्ताको विकास बन्छ । एउटा गरिव मुलुकबाट होइन संवृद्ध मुलुकबाट आएका हौं भन्न पाइयो भने हाम्रो पनि गर्वको विषय हुन्थ्यो । त्यो पखाईमा हामी छौं । त्यो स्थिति निर्माण गर्नका लागि नेपाल सरकारलाई सक्दो सहयोग गर्ने काम गैरआवासीय नेपाली संघले गर्नेछ ।

Advertisement

Advertisement

Advertisement