पतिले बिश्राम लिने भएसँगै श्रीमती जमुना एनआरएनएको नेतृत्व गर्न अघि सरिन

Advertisement

काठमाडौंः पति शेष घलेले विश्राम लिने भएसँगै श्रीमती जमुना गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । जमुनाले बिहीबार पत्रकार सम्मेलन गरी संघको नेतृत्वमा दावी प्रस्तुत गरेकी हुन ।

अष्ट्रेलियाका धनाढ्यहरुको सुचीमा रहेका शेष र जमुनाले नेपालमा समेत थुप्रै आर्थिक सामाजिक क्षेत्रमा योगदान दिइसकेका छन् । एनआरएनएको आठौं विश्व सम्मेलन तथा महाधिवेशन शनिबारबाट काठमाडौं सुरु गइरहेको बेला जमुनाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

अध्यक्षमा यसअघि हालका उपाध्यक्ष भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन् भने कतारका नेपाली व्यवसायी टीबी कार्कीले यस पटक पनि उम्मेदवारी दिने समाचारहरु आइरहेका छन् ।

विश्वभरका नेपालीहरुको साझा संगठन एनआरएनएको यस पटकको सम्मेलनमा दुई हजारभन्दा बढि प्रतिनिधिहरु सहभागी हुँदैछन् । जमुनाले पत्रकार सम्मेलनमा भनिन, ‘विश्वभरीबाट आउनु भएका डेलिगेट्सहरुको आग्रह एवं गैरआवासीय नेपाली संघका मुख्य स्केटहोल्डरहरुको विश्वास र अपेक्षालाई निरन्तरता दिनुपर्ने आवश्यकतालाई ध्यान दिँदै मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेकी छु । मैले सबैको सहयोग पाउने विश्वास गरेकी छु ।’

उनले एनआरएनएले निर्माण गरिरहेका ठूला आयोजनाहरुलाई समयमै सम्पन्न गर्ने, ‘भिजन २०२० एण्ड बियोण्ड’को सफल कार्यान्वयन गर्ने बताइन । उनी अध्यक्षमा विजयी भइन भने संघको पहिलो महिना अध्यक्ष हुनेछिन ।

Advertisement

Advertisement

Advertisement