गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण यसै बर्ष सक्न निर्देशन

Advertisement

काठमाडौंः व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम चालू आर्थिक वर्ष भित्रै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ।

बिहीबार बसेको समितिको बैठकले विमानस्थल निर्माणको काम सन्तोषजनक नरहेकाले तोकिएको समयमा सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिएको हो।

मन्त्रालय, आयोजना प्रमुख र आयोजना स्थलको समेत अनुगमन गरेपछि विमानस्थल निर्माणको काम समयमै सक्न निर्देशन दिएको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

समितिले निर्माणका लागि आवश्यक सामग्रीहरुको सहज आपूर्ति गर्न सरकारलाई सचेत पनि गराएको छ । समितिले आयोजनाको जग्गाको मुआब्जा वितरणमा देखिएको समस्या समाधानगर्न आवश्यक नीतिगत व्यवस्था गरिदिन अर्थ मन्त्रालयलाई पनि सचेत गराएको छ ।

बैठकमा निर्माणको जिम्मेवारी पाएको चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एशिएशनले कामै नगरेको आयोजना प्रमुख ओम शर्माले समितिलाई जानकारी गराएका थिए ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चालू आर्थिक वर्ष भित्रै सम्पन्न गरिसक्ने लक्ष्य लिइएको राष्ट्रिय गौरवको आयोजना हो । यो आयोजना निर्माणका लागि एसियाली विकास बैंकले पनि आर्थिक सहयोग उपलब्ध गराएको छ।

Advertisement

Advertisement

Advertisement