नेपाल टेलिकमको १९७ मार्फत हुने सोधपुछ सेवा अब नयाँ संरचनाबाट

Advertisement

काठमाडौंः नेपाल टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र शुक्रबारदेखि सञ्चालनमा आएको छ । सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले यसको शुभारम्भ गरे ।

सो अवसरमा राज्यमन्त्री बिष्टले नेपाल टेलिकमको सेवाप्रति नेपाली जनता पूर्णरुपमा विश्वस्त भए तापनि ग्राहकसँग निरन्तर नजिक भइरहनका लागि सोधपुछ तथा ग्राहक सेवा केन्द्रले थप सहयोग पुर्याउने बताए । उनले समय सापेक्ष नयाँ प्रविधि भित्र्याएर सेवा उपलब्ध गराए मात्र ग्राहकलाई सन्तुष्ट बनाउन सकिने र राजश्व पनि वृद्धि हुने बताए ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले ग्राहकको गुनासोलाई सम्बोधन गर्नका लागि सेवा केन्द्रले सहयोग पुर्याउने बताए । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकका जिज्ञासा तथा गुनासालाई समयमै सम्बोधन गर्न र कम्पनीलाई ग्राहकप्रति उत्तरदायी बनाइरहनका लागि सेवा केन्द्र सुरु गरेको बताइन ।

वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक देवनारायण यादवले यस प्रकारको सेवा पहिले देखि नै सञ्चालन गरिएको भए तापनि हाल नयाँ व्यवस्थापनमा सञ्चालन गर्न लागिएको बताए । १९७ मार्फत हुने सोधपुछ सेवा आजैदेखि नयाँ संरचनाबाट सञ्चालनमा आइसकेको छ ।

वायरलाइन ग्राहक सेवाका लागि १९८ र जीएसएम तथा सीडीएमए मोबाइल ग्राहक सेवाका लागि १४९८ नम्बरमा डायल गरेर ग्राहकहरुले उक्त सेवा सम्बन्धी गुनासा तथा जिज्ञासा राख्ने तथा आवश्यक जानकारी लिन सकिन्छ । यी सबै सेवा निःशुल्क रुपमा उपलब्ध छन् ।

हालसम्म टेलिफोनबाट मात्र सेवाहरु दिइरहेकोमा सो सेवा केन्द्रबाट छिट्टै नै एसएमएस, इमेल तथा वेब च्याट सेवाको माध्यमबाट समेत सोधपुछ तथा ग्राहक सेवा उपलब्ध गराइने छ । त्यसैगरी फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमार्फत प्राप्त सुझाव तथा गुनासाहरुको जवाफ पनि आगामी दिनमा यही केन्द्रमार्फत उपलब्ध गराउने व्यवस्था गरिने जनाइएको छ ।

सोधपुछ तथा ग्राहक सम्बन्धी सेवा बाह्य संस्थामार्फत गर्ने कम्पनीको नीतिअनुसार हाल नयाँ व्यवस्थापन सहित हाइवे लिंक प्रालिसँग सम्झौता गरी सेवा उपलब्ध गराउन लागिएको हो ।

Advertisement

Advertisement

Advertisement