विना लाइसेन्स् सवारी चलाउने चालकको संख्या बढ्दो, गत वर्ष २६ हजार समातिए

Advertisement

काठमाडौँः काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउनेको संख्या बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३/७४ मा २६ हजार ५२९ जनाले बिना लाइसेन्स सवारी साधन चलाएको पाएको छ । महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चेकजाँच गर्दा उक्त संख्यामा चालक कारबाही गरेको हो ।

महाशाखाका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनाल कानुनको परिपालना नगरी अनधिकृत रुपमा लुकिछिपी सवारी साधन चलाउनेको संख्या धेरै रहेको बताउछन् । “विना लाइसेन्स भित्री सडकमा सवारी साधन चलाउने चालक धेरै छन्, ट्राफिक प्रहरीले यस्ता चालकमाथि विशेष अभियान चलाएको छ,”–प्रमुख खनालले भने ।
उनले सवारी साधनको वृद्धिसँगै लाइसेन्स नलिई सवारी चलाउने चालकको संख्यामा समेत वृद्धि हुँदै गएको बताए ।

महाशाखाले अहिले बिना लाइसेन्स सवारी चालक चलाउने चालकमाथि एक हजार रुपियाँ जरिवना लिँदै आएको छ । पहिला दुई सय ५० रुपियाँ राजश्व लिँदै आएको महाशाखाले २०७३ वैशाख १३ गतेको निर्णयअनुसार एक हजार राजश्व लिँदै आएको हो । पक्राउ परेका सवारी साधन फिर्ता भने सम्बन्धित सवारी धनी वा चालकको आफन्तले लाइसेन्स लिएर आएपछि मात्र गर्ने गरिन्छ । हाल काठमाडौँ उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारी साधन रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement