जमुनालाई भारी मतले हराउँदै भवन भट्ट एनआरएनएको अध्यक्षमा विजयी

Advertisement

काठमाडौंः गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन् । काठमाडौंमा भएको संघको महाधिवेशनबाट प्रतिस्पर्धी जमुना गुरुङेलाई हराउँदै भट्ट भारी मतले विजयी भएका हुन ।

उनी जापानका नेपाली व्यवसायी हुन । भट्टले एक हजार १९७ मत प्राप्त गरेका छन् भने गुरुङले भने पाँच सय ८४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । समितिका सदस्य कुलप्रसाद पाण्डेका अनुसार कुल एक हजार ८५४ मध्ये एक हजार७८८ मत खसेकोमा भट्टले झण्डै दोब्बर मतले विजयी हुन सकेका हुन ।

संघको आठौं सम्मेलन सुरु हुन लाग्दा उम्मेदवारी घोषणा गरेकी निवर्तमान अध्यक्ष शेष घलेकी श्रीमती जमुनालाई गैरआवासीय नेपालीहरुका प्रतिनिधिले पर्खन सल्लाह दिएको देखिएको छ । भट्टले अघिल्लो महाधिवेशनदेखि नै आफूलाई अध्यक्षको प्रत्यासीको रुपमा प्रस्तुत गर्दै काम गर्दै आएका थिए ।

डिजिटल एनआरएनए स्थापना गर्ने बताउँदै आएका भट्टले यसअघि प्रतिवद्धता जनाएर पूरा हुन नसकेका कामहरुलाई आफूले पूरा गर्ने बताए । उनले निर्वाचन एउटा प्रजातान्त्रिक प्रक्रिया मात्रै भएको बताउँदै यसले संघलाई बलियो बनाउने र आफू संगठनलाई एकढिक्का बनाउन लाग्ने बताए ।

त्यस्तै, दुई उपाध्यक्ष पदका लागि छ जनाबीच प्रतिस्पर्धा भएकोमा कुमार पन्त र कुल आचार्य विजयी भएका छन् । उपाध्यक्षमा दोहोरिएका पन्तले एक हजार ३० मत पाएका छन् भने अर्का आचार्यले छ सय ४४ मत पाए । उपाध्यक्षका अन्य पराजित प्रत्यासी चिरञ्जीवी थापाले तीन सय ८०, खगेन्द्र क्षेत्रीले तीन सय ४९, सोनाम लामाले चार सय ३६ र रविना थापाले दुई सय ६४ मत प्राप्त गरे ।

महिला उपाध्यक्ष सपिला राजभण्डारी विजयी भएकी छन् । सपिलाले एनआरएनएकी प्रवक्ताको भूमिकामा रहेकी रञ्जु वाग्ले थापालाई पराजित गरेकी हुन । राजभण्डारीले एक हजार ५४ मत प्राप्त गरिन् ।

महासचिव पदमा दुई प्रतिस्पर्धीलाई हराउँदै पुनः डा. बद्रि केसी विजयी भएका छन् । केसीले सात सय ६७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी यम गुरुडले पाँच सय ३८ र अर्जुन श्रेष्ठले तीन सय ६४ मत ल्याए ।

त्यसैगरी, दुई सचिव पदका लागि छ जनाबीच भएको प्रतिस्पर्धामा डबरबहादुर क्षेत्री र जानकी गुरुङ विजयी भएका छन् । क्षेत्रीले छ सय छ र जानकीले छ सय ५५ मत पाएका छन भने सचिवका अन्य प्रत्यासीहरु गणेश केसीले छ सय ५३, डा देवी बस्नेतले तीन सय २१, ऋषिराम कडेलले एक सय नौ र सन्तोष भट्टराईले चार सय ९७ मत ल्याएका छन् ।

कोषध्यक्षमा पुनः हिक्मतबहादुर थापा बिजयी भएका छन् । सह कोषाध्यक्षमा सोमनाथ सापकोटा बिजयी भएका छन् । थापाले एक हजार ३८ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिस्पर्धी मुछेत्र गुरुडले छ सय ५३ मत पाए । सहकोषध्यक्षमा सापकोटाले एक हजार २४ मत ल्याए भने उनका प्रतिस्पर्धी चक्रबहादुर थापाले पाँच सय २६ मत पाए ।

महिला संयोजकमा भूमादेवी लिम्बु, युवा संयोजकमा सुदन थापा निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । प्रधानले नौ सय दुई मत ल्याएर विजयी भएकी हुन । उनकी प्रतिस्पर्धी भोमा लिम्बुले छ सय ७६ मत ल्याइन भने युवा संयोजकमा विजयी थापाले चार सय ९७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी लोकराज शर्माले तीन सय नौ, स्वतन्त्रप्रताप शाहले चार सय ९०, र दीपक वलीले दुई सय ७९ मत ल्याए ।

संघमा २१ जनाको अन्तर्राष्ट्रिय समन्य समिति (कार्यसमिति) हुने र निर्वाचित कार्यसमितिले दुई बर्षसम्म काम गर्ने व्यवस्था छ । जसमा छ वटा क्षेत्रीय संयोजक तथा उपसंयोजक, महिला र युवा समितिको संयोजक र उपसंयोजक रहने व्यबस्था छ ।

त्यसैगरी, क्षेत्रीय संयोजकहरुमा अमेरिका क्षेत्रबाट गौरीराज जोशीले एक सय १८ मत ल्याएर विजयी भएका छन भने नविन शेरचनले ७५ मत पाए । अमेरिका क्षेत्रको महिला उपसंयोजकमा संगीता लम्साल शिवाकोटी निविरोध भइन भने युवा संयोजकमा डा बर्षा मोक्तान निर्विरोध भइन ।

यूरोप संयोजकमा शिवप्रसाद बरुवाल एक सय ४२ मत ल्याएर विजयी भए । दुई उपसंयोजकमा एकराज गिरीले एक सय ४४ मत र गोविन्द गौतमले दुई सय ४ मत ल्याएर विजयी भए ।

युरोपबाट महिला उपसंयोजकमा संगीता मरहट्टाले तीन सय ११ मत ल्यायी विजयी भइन भने यूवा संयोजकमा जयकृष्ण ठाकुर निर्विरोध निर्वाचित भए ।

ओसियानाबाट संयोजकमा धर्मराज अधिकारीले ८४ मत ल्यायी विजयी भएका छन भने उपसंयोजकमा इश्वर कुइकेल र लोकनाथ पौडेलले बराबर मत पाएकाले गोला प्रथाबाट विजयी घोषणा गरिने निर्वाचन समितिले जनाएको छ । ओसियानाको महिला उपसंयोजकमा प्रीति शर्माले ९८ मत ल्याई विजयी भइन । ओसिनीयाबाट युवा संयोजकमा ऋषिराम आचार्यले एक सय चार मत ल्यायी विजयी भए ।

एसिया प्यासिफिक संयोजकमा किरणविक्रम थापाले एक सय २९ मत पाएर विजयी भएका छन भने दुई उपसंयोजकमा विनाद कुवरले एक सय ४५ र पारशमणी शर्माले एक सय ५३ मत ल्याएर विजयी भए ।

एसिया प्यासिफिकबाट महिला उपसंयोजकमा जुनुमाया गुरुड र निर्विरोध भएकी छिन भने युवा संयोजकमा कुनै उम्मेदवारी परेन ।

अफ्रिकाबाट संयोजकमा सुनिल कार्की निर्विरोध विजयी भए । दुई उपसंयोजकमा डा भुवन ढकाल र शिव शर्मा पौडेल निर्वाचित भए । महिला संयोजकमा मनकला विष्ट थापा र युवा संयोजकमा बाबुराम लुईटेल निर्विरोध निर्वाचित भए ।

मध्यपूर्व संयोजकमा राजेन्द्रकुमार (आरके) शर्माले दुई सय ६९ मत ल्याएर विजयी भए भने उपसंयोजकमा गोपाल कडेल र हंसराज ढकाल निविरोध निर्वाचित भए । महिला उपसंयोजकमा यासयीन बेगम निर्विरोध निर्वाचित भइन । युवा उपसंयोजकमा राजकुमार बस्नेत निर्विरोध निर्वाचित भए ।

विश्वका ६० भन्दा बढी मुलुक गैरआवासीय नेपाली सहभागी अहिलेको एनआरएनएको विश्व सम्मेलन तथा महाधिवेशनमा विगतमा भन्दा उल्लेख्य सहभागिता रहेको थियो । चार दिनसम्म चल्ने यो कार्यक्रम मंगलबार सम्पन्न हुँदैछ । संघले हालसम्म ७८ मुलुकमा आफ्नो संगठन विस्तार गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement