एउटै गाउँबाट तीन करोडको माला बिक्री

Advertisement

 

भक्तपुर: तिहार नजिकिएसँगै परम्परागत रुपमा मखमली फूलखेती गर्ने ताथलीको वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ ।

तिहारको भाइटीकाका लागि मखमली फूलमाला उन्न चाँगुनारायण नगरपालिका– ९ को वनमाला समुदायका केटाकेटी, महिला र पुरुष माला उन्न र बजार पु¥याउन व्यस्त छन् ।

आयआर्जनको प्रमुख स्रोत फूलखेती बनाउँदै आएको ताथलीको वनमाला समुदायको ४० घरपरिवारलाई फूल टिप्न, माला गाँस्न र बजार लैजान भ्याइनभ्याई भएको स्थानीयवासी विष्णु वनमालाले बताए । तिहारका लागि वनमाला समुदायले एक रोपनीदेखि १० रोपनी जग्गामा मखमली फूलखेती गर्ने गरेका छन् । वैशाख–जेठमा छर्ने मखमली फूल साउनदेखि फूल्न थाल्छ ।

स्थानीयवासी कर्णबहादुर वनमाला मनग्य आम्दानी हुनथालेपछि वनमाला समुदाय मखमली फूलखेतीतर्फ आकर्षित भएका बताउछन् । तिहारमा फूल बेचेर प्रत्येक परिवारले रु एक लाखदेखि रु आठ लाखसम्म कमाउने गरेका छन् । अहिलेसम्ममा करिब ३० हजार फूलको माला उनीसकेको अम्बिका वनमालाले बताउनुभयो । बिहानको समयमा फूल टिप्ने र दिनभरि फूलको माला गाँस्ने गरेको उनले बताए ।

अहिले मखमली फूलको माला रु १०० सम्ममा बिक्री हुन्छ । माला लिन गाउँमै व्यापारी आउने गरेका छन् । स्थानीयवासीले जग्गा भाडामा लिएर फूलखेती गर्ने गरेका छन् । कोटेश्वर, पशुपति, गौशाला, बानेश्वर, चाबहिल, स्वयम्भू, असन, इन्द्रचोकदेखि पूर्वमा काभ्रेको विभिन्न ठाउँमा समेत यहाँका फूलको माला बिक्री हुन्छ ।

जिल्लामा ताथलीलगायत गुण्डु, कटुञ्जे, छालिङ, दधिकोट, सिपाडोल, बालकोटमा व्यावसायिक रुपमा मखमली र सयपत्री फूलखेती गरिँदै आएको छ । एक रोपनी खेतको भाडा रु ६ हजारदेखि रु १० हजार तिर्ने किसानले एक रोपनी जग्गामा फूलबाट कम्तिमा रु ४० हजारसम्म आम्दानी गर्ने गरेका छन् ।

 

Advertisement

Advertisement

Advertisement