तालिबानको आक्रमणबाट कान्दाहारमा ४३ जना अफगान सेना मारिए

Advertisement

कान्दाहार: अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा रहेको अफगानिस्तानको सैनिक पोष्टमा तालिबानले गरेको आक्रमणबाट कम्तीमा पनि ४३ जना सैनिक मारिएका छन् ।

दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अफगान सैनिकको पोष्टमा यहाँका तालिबान सशस्त्र हतियारधारीहरुले सो हमला गरेका थिए । हमलामा परी ती सैनिक मरिएका र अरु कैयौँ घाइते पनि भएका बताइएको छ ।

तालिबानहरुले कारबमका साथै अत्याधुनिक हतियारहरुले सो सैनिक पोष्टमा हमला गरेका थिए । गएराति उक्त पोष्टमा रहेका अफगान सेना र सशस्त्र तालिबान लडाकूहरुबीच निकै लामो समयसम्म भिडन्त पनि भएको थियो ।

सो भिडन्तका क्रममा ४३ जना सैनिकको ज्यान गएको अफगानिस्तानको सेनाले बिहीबार बिहान प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको चिनियाँ समाचार समिति सिन्ह्वाबाट प्राप्त समाचारमा जनाइएको छ ।

गएराति रातभर सो भिडन्त भएको र बिहानीपख अफगान सेनाको थप सैन्यबल सो पोष्टमा गएको थियो । त्यसपछि भने तालिबानहरु भागेका बताइएको छ ।

थप बलको सहायताले अझै ठूलो दुर्घटना टरेको अफगान सेनाले जनाएको छ । सेनाका अनुसार सो भिडन्तका क्रममा अरु पनि कैयौँ सैनिक घाइते भएका छन् । के कतिजना घाइते छन् भन्ने बारेमा भने सेनाले पूर्ण विवरण दिइसकेको छैन ।

सो भिडन्तका क्रममा दुईवटा अति शक्तिशाली कारबमको प्रयोगबाट तालिबानहरुले हमला गरेका बताइएको छ । त्यस क्रममा कैयौँ तालिबान पनि मारिएको आशङ्का गरिएको छ ।

तर के कति मात्रामा उनीहरुको हताहत भएको छ भन्ने बारेमा भने पूर्ण विवरण आइसकेको छैन । सो क्षेत्रमा बिहीबार बिहानदेखि नै ठूलो सङ्ख्यामा अफगान सैनिकले गस्ती सुरु गरेको र क्षतिको विवरण सङ्कलन गरिरहेको बताइएको छ ।

तालिबानहरुले उक्त जिल्लाका छिमेकी जिल्लाहरु पाक्टिया र गजनीमा शक्तिशाली हमला गरेको एक दिनपछि यो हमला भएको बताइएको छ । ती क्षेत्रमा उनीहरुले बारम्बार हमला गर्ने गरेका छन् ।

ती दुई जिल्लामा तालिबानले गएको सोमबार र मङ्गलबार गरेका हमलामा परी कम्तीमा पनि १७० जना सर्वसाधारण र अफगान सुरक्षा फौजका सदस्यहरुको ज्यान गएको थियो ।

Advertisement

Advertisement

Advertisement