बाबुरामले नारायणकाजीको कडा चुनौति सामना गर्नुपर्ने

Advertisement

गोरखाः आफूले यसअघि चुनाव लडेर निर्वाचित हुँदै आएको क्षेत्रमा डा. बाबुराम भट्टराईलाई अर्का प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले कडा चुनौति दिने भएका छन् ।

आफ्नो मातृ पार्टी छोडेर बिचलित हुँदै आएका बाबुरामलाई माओवादी केन्द्रका नेता श्रेष्ठले टक्कर दिन लागेका हुन । काँग्रेससँग तालमेल गर्दै गोरखा २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम र श्रेष्ठबीच प्रतिस्पर्धा हुन लागेको हो ।

उम्मेदवारी घोषणासँगै उनीहरु एकअर्काबीच आरोप प्रत्यारोपमा लागेका छन् । सोमबार दुवै जनाले पत्रकार सम्मेलन गर्दै एकले अर्कोलाई आरोपित गर्दै आफूले नै गोरखा २ बाट जित्ने दावी प्रस्तुत गरे ।

पत्रकार सम्मेलनमा भट्टराईले वाम गठबन्धन सत्ताको लोभमा लागेकाले आफू बाहिरिएको भन्दै भने, ‘देशलाई निकास दिन वाम वा लोकतान्त्रिक जुन शक्तिसँग भए पनि गठबन्धन गरेर अगाडि बढ्ने योजना थियो । तर वाम गठवन्धन सत्ताको लोभमा लाग्यो ।’

वाम गठबन्धन सत्ताको लोभले परिर्वतन हुन नसकेको उनको भनाई छ । भट्टराई थपे, ‘वाम गठबन्धन सत्ता केन्द्रित भयो, त्यसैले त्यहाँबाट बाहिरिएको हुँ ।’ आफूले कांग्रेसलाई जरैदेखि सिध्याउनुपर्छ भन्ने अभिव्यक्ति दिएको भनेर गलत प्रचार गरिएको भन्दै उनले गोरखा २ बाट आफ्नो विजय सुनिश्चित रहेको बताए ।

उनका प्रतिद्वन्द्वी श्रेष्ठले बाबुरामको प्रवृत्तिका कारण उनीसँगको तालमेल टिकाउ नभएको भन्दै जोसँग पनि मिल्न खोज्ने, आफूले भनेअनुसार सिट नपाएपछि छोडेर जानेजस्ता प्रवृत्तिका कारण बाबुरामसँग बामगठवन्धनको तालमेल हुन नसकेको बताए ।

कहिले फोरमसँग तालमेल गर्न खोज्ने, कहिले वाम गठबन्धनमा कहिले कांग्रेसमा जाने बाबुरामको ढुलमुले प्रवृत्ति रहेको भन्दै उनले स्थानीय तह निर्वाचनमा परिणाम हेरेपछि बाबुराम झनै अत्तालिएर गठबन्धन गर्न दल खोज्दै हिँडेको आरोप लगाए ।

श्रेष्ठले भने, ‘बाबुरामजीले चुनाव जित्ने आधार देखिँदैन, कार्यदिशा र योजना केही प्रस्ट छैन ।’ यता बाबुरामले भने अर्थमन्त्री हुँदा गोरखा २ मा आफूले गरेको लगानी, यसअघि एकपटक विजयी हुँदा जनताले दिएका मत र जनआधारमा जित्ने दाबी गरे ।

श्रेष्ठले भने कृषि, बाटोघाटो, जलविद्युत, पर्यटन र तिब्बतसँगको गोरखाको नाका सधैं खुलाउने एजेन्डामा आफू अगाडि बढेको भन्दै गोरखाको समृद्धि र सिंगो नेपालको विकासका लागि वाम गठबन्धनले बहुमतको सरकार बनाएर देशको कायपलट गर्ने दाबी गरे ।

Advertisement

Advertisement

Advertisement