सिटिजन्स बैंकको मुनाफामा ७.५४ प्रतिशतको गिरावट, खराब कर्जा पनि बढ्यो

Advertisement

काठमाडौंः सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड ९० लाख ९९ हजार रुपियाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा सात दशमलव ४५ प्रतिशतले कमी हो ।

कम्पनीले गत वर्षको पहिलो त्रैमास अवधिमा ३४ करोड ५१ लाख ५७ हजार रुपियाँ नाफा कमाएको थियो । बैंकले यो त्रैमासमा ४८ करोड १४ लाख ४९ हजार रुपियाँ खुद ब्याज आम्दानी गरेको छ । निक्षेप रकम ५० अर्बबाट ५४ अर्ब ६३ करोड २७ लाख सात हजार रुपियाँ पुर्याएको बैंकले कर्जामा भने ५० अर्ब छ करोड ५८ लाख तीन हजार रुपियाँ लगानी गरेको छ ।

चुक्ता पुँजी बढेको अनुपातमा व्यापारको आयतन फराकिलो पार्न नसक्दा नाफामा असर गरेको देखिन्छ । बैंकले सम्भावित जोखिमका लागि पाँच करोड ४७ लाख ८० हजार रुपियाँ छुट्याउँदा सात करोड १० लाख ५९ हजार रुपियाँ राइट ब्याक गर्न सकेको छ ।

बैंकको खराब कर्जा पनि बढेर एक दशमलव ७३ प्रतिशत पुगेको छ । बैंकले चुक्ता पुँजी आठ अर्ब दुई करोड ९१ लाख ६० हजार रुपियाँ पुर्याएको छ । बैंकको रिजर्भ कोषमा भने एक अर्ब ६८ करोड ७९ लाख ७१ हजार रुपियाँमात्र जम्मा भएको छ । चुक्ता पुँजीको आधारमा बैंकले रिजर्भ कोष बढाउनुपर्ने चुनौती देखिन्छ ।

बैंकको कस्ट अफ फन्ड बढेर आठ दशमलव दुई प्रतिशत पुगेको छ । कम्पनीको कर्जा निक्षेप अनुपात भने घटेर ७६ दशमलव ६२ प्रतिशत पुगेको छ । बैकको प्रतिसेयर आम्दानी १५ रुपियाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ दुई पैसा रहेको छ ।

Advertisement

Advertisement

Advertisement